काठमाडौं। लगनको महिना, वैवाहिक समारोहका लागि रोजाइमा होटल छन्, या त पार्टीप्यालेस र ब्यांकेट। मंसिर महिनामा लगन परेका कुनै पनि दिन काठमाडौंका पाँचतारे होटलका इभेन्ट हल खाली छैनन्।
काठमाडौं महानगर भित्रका स्तरीय पार्टीप्यालसेहरु करिब करिब सबै बुकिङ फुल त छँदैछन्, होटलहरुलाई पनि भ्याइनभ्याइ छ। अग्रिम बुकिङ नभइ झट्ट पार्टी वा वैवाहिक समारोहका लागि होटलका हलहरु पाइने अवस्था छैन।
व्यवसायीहरुका अनुसार अधिकांश होटलका हलहरु अग्रिम बुकिङ भएका छन्। बिहेको लगन र भोजभत्तेरका लागि पछिल्लो समय पाँचतारे होटलको ब्यांकेट हलले प्राथमिकता पाएपछि अधिकांशमा उल्लेख्य संख्यामा बुकिङ रहेको व्यवसायीहरुले बताएका छन्।
यो सँगै विदेशी पर्यटकको आवागमनका कारण होटलमा चाप छ। आउँदो डिसेम्बरका लागि अधिकतम ७५ प्रतिशतभन्दा बढी कोठाको अग्रिम बुकिङ भइसकेको पर्यटकीयस्तरका होटलहरुले जनाएका छन्।
मंसिरभर ब्यांकेट हल पूर्णरूपमा बुकिङ भइसकेको सोल्टी होटलको व्यवस्थापनले जनाएको छ। विभिन्न कर्पोरेट इभेन्टसँगै बिहे र त्यसका भोज आयोजनाका लागि यो महिना अग्रिम बुकिङ उल्लेख्य रहेको होटलका उपाध्यक्ष सुदर्शन चापागाईँले बताए।
'बिहेको लग्न रहेको मितिका लागि इभेन्ट हल खाली छैनन्। कर्पोरेट इभेन्ट, माइस मुमेन्ट उल्लेख्य छ। यो महिनाभर अधिकांश दिन इभेन्ट हल बुक भइसकेका छन्। सबै डेट क्लोज हुन लागिसकेको अवस्था छ,' उपाध्यक्ष चापागाईँले भने।
२८५ कोठा क्षमताको होटलमा हालसम्म ७० प्रतिशत रुम अकुपेन्सी कायम हुँदै आएको उनले जानकारी दिए। उनका अनुसार आगामी डिसेम्बरका लागि ८० प्रतिशत कोठाको अग्रिम बुकिङ भइसकेको छ। यो वर्ष विदेशी पर्यटकको आवगमन वृद्धिका कारण आउँदो डिसेम्बरका लागि माग राम्रो रहेको उनले बताए।
लाजिम्पाटको होटल र्याडिसनमा बिहे र भोजका लागि ६ महिना अगाडिदेखि नै अग्रिम बुकिङ छन्। डिसेम्बरसम्मका लागि ब्यांकेट हलको अग्रिम बुकिङ भइसकेको ब्यांकेट सेल्स एक्जिक्युटीभ सुशान्त पाण्डेले बताए। बिहेसँगै कर्पोरेट इभेन्टका लागि आउँदो चैत महिनासम्म अग्रिम बुकिङ आइसकेको उनले जानकारी दिए।
'डिसेम्बरमा वेडिङका लागि बुकिङ फुल छ। कर्पोरेटको पनि क्लोजिङ सिजन नजिकिँदै छ। कतिपय बैंकहरुको क्लोजिङ डिनर, तालिम लगायतका लागि आउँदो चैतसम्मका लागि लगभग बुकिङ फुल भइसकेको छ,' उनले भने। होटलले आउँदो डिसेम्बरका लागि ८० प्रतिशत कोठाको अग्रिम बुकिङ भइसकेको जनाएको छ।
नयाँ बानेश्वरस्थित एभरेष्ट होटलले आउँदो चैतसम्म इभेन्टका लागि अग्रिम बुकिङ आएको जनाएको छ। मंसिर महिना बिहेको लगन र भोजका लागि तीन महिना अगाडिदेखि नै ब्यांकेट हल बुकिङ भइसकेको महाप्रबन्धक आशिष चलुले बताए।
'ब्यांकेटको बुकिङ उत्साहजनक छ। चुनाव सकियो, विवाहको सिजन सुरु भएको छ। भोज भत्तेरका लाग यो महिनाका अधिकांश दिन ब्यांकेट बुकिङ भइसकेको छ,' महाप्रवन्धक चलुले भने,'त्यसपछि पनि कर्पोरेट इभेन्ट हुनेछन्।'
उनका अनुसार मंसिरका लागि तीन महीना अघिदेखि नै ब्यांकेट बुकिङ भइरहेको थियो। होटलमा यतिखेर ७५ प्रतिशतभन्दा माथि अकुपेन्सी कायम रहेको उनले जानकारी दिए।
अलोफ्ट होटलले मंसिर महिनाका लागि पाँच सय जना क्षमतामा सेवा दिने किसीमले बिहे र भोजभत्तेरका लागि अग्रिम बुकिङ लिइसकेको जनाएको छ। 'दुई महिनापछिब्यांकेट सेवामा उल्लेख्य माग आइरहेको छ। मंसिरमा ब्यांकेट हल फुल बुकिङ छ। अहिले बिहेका लागि बुकिङ भइसकेको छ। आउँदो फेब्रुअरी १५ सम्मका लागि कर्पोरेट इभेन्टको बुकिङ पनि आइरहेको छ,' होटलका महाप्रबन्धक विक्रम सिंहले भने।
अक्टोबरमा ९० प्रतिशत अकुपेन्सी कायम गरेको थियो। होटलमा यतिखेर ७० प्रतिशत अकुपेन्सी रहेको जानकारी उनले दिए।


