गोविन्दराज जोशीविरुद्ध रामचन्द्र पौडेलले लिए बदला, तनहुँ १ बाट निर्वाचित, जोशी बने तेस्रो



बिजमाण्डू
२०७९ मंसिर ८ गते १०:४२ | Nov 24, 2022


काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन्। पौडेलले एमालेका एक बहादुर रानालाई पराजित गर्दै प्रतिनिधि सभा यात्रा तय गरेका हुन्।

Tata
Global Ime

निर्वाचन आयोगले भने मतपरिणाम औपचारिक रुपमा घोषणा गरेको छैन। पौडेलले २५ हजार ३ सय १८ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी एक बहादुर रानाले १९ हजार ९ सय ४३ मत ल्याएका छन्।

गोविन्दराज जोशीको उम्मेदवारीका बाबजुद पनि पौडेल यसपटक निर्वाचित भएका हुन्। अघिल्लोपटक भने पौडेल जोशी र वाम गठबन्धनका कारण पराजित भएका थिए। आफू पराजित भएपछि जोशीलाई पौडेलले कांग्रेसबाट निष्काशन गर्न लगाएका थिए। यसपटक निर्वाचनको शुरुमै पौडेलले आफूलाई जोशीको उम्मेदवारीले केही फरक नपर्ने बताएका थिए।

तपाईंले गोविन्दराज जोशीलाई भन्न खोज्नुभएको हो, फेरि अप्ठेरो हुने भयो है? बिजमाण्डूको प्रश्नमा पौडेलको जवाफ थियो, 'होइन। मैले चाहेको भए एउटा दरखास्त दिने बितिक्कै उनको उम्मेदवारी खारेज गइहाल्थ्यो। मैले त घोषणा गरेरै म यसपाली यसकाविरुद्ध उजुरी गर्न जान्नँ चुनाव लडेरै हेरोस् भनेर। म त्यही हेरिराखेको छु। त्यसले मलाई केही असर गर्दैन।'

कांग्रेसमा रहेर चिर प्रतिद्वन्द्वी बनेका जोशीलाई यसपटक पौडेलले तेस्रो बनाएका छन्।