
काठमाडौं। सोलुखुम्बुमा २४.८८ मेगावाटको अर्को एउटा आयोजना थपिने भएको छ। प्रस्तावित लुजा खोला जलविद्युत आयोजना थपिन लागेको हो। यो आयोजना खुम्बु पासाङ ल्हामु गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिका भएर बग्ने बग्ने लुजा खोलामा निर्माण हुनेछ।
यो नदी प्रवाहमा आधारित आयोजना हो। सिल्क पावर प्रालि प्रवर्द्धक रहेको आयोजना २०८२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। विद्युत विकास विभागले सुचना निकालेर आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ। आयोजनाको सम्भाव्यता र प्रारम्भिक वातावरणिय परीक्षण प्रतिवेदन तयार भइसकेको छ।
प्रतिवेदन अनुसार यो आयोजनाको भौतिक संरचनाहरु खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ मा रहेको लुजा खोलाको दायाँतिर निर्माण हुनेछ। आयोजनाको पानी फर्काउन १० मिटर लम्बाई र १.१२ मिटर उचाईको साइट इन्टेक निर्माण गरिनेछ। सतही प्रकृतिको विद्युत गृह रहनेछ।
उत्पादित विद्युत ३५ किमी लामो १३२ केभी सिंगल सर्किट प्रसारणलाइन निर्माण गरेर नेपाल विद्युत प्राधिकरणको तिङला सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ। तीन बर्षमा निर्माण सक्ने लक्ष्य छ।