अल्ट्राभिओलेटको इ-बाइक ‘एफ ७७’ भारतीय बजारमा सार्वजनिक, विद्युतीयमा हालसम्मकै महंगो बाइक



बिजमाण्डू
२०७९ मंसिर ९ गते १२:१७ | Nov 25, 2022


अल्ट्राभिओलेटको इ-बाइक ‘एफ ७७’ भारतीय बजारमा सार्वजनिक, विद्युतीयमा हालसम्मकै महंगो बाइक


काठमाडौं। अटो कम्पनी अल्ट्राभिओलेटको नयाँ स्पोर्टी ई-बाइक 'एफ ७७' मोडल भारतमा सार्वजनिक भएको छ। भारतीय कम्पनीले यो स्पोर्टी नयाँ ई-बाइक बिहीबार सार्वजनिक गरेको हो।

Tata
Global Ime

कम्पनीका अनुसार यो इलेक्ट्रिक बाइक जनवरीदेखि डेलिभरी हुनेछ। यसको मूल्य भारतमा भारु ३.८० लाख तोकिएको छ। यो भारतमा हालसम्म उपलब्ध इलेक्ट्रिक बाइकहरु भन्दा महँगो हो।

यसको उत्पादनमा टीभीएस मोटर कम्पनीले पनि लगानी गरेको छ। कम्पनीले यसको विकासका लागि ५ वर्ष लगाएको थियो।

हाल यो बाइक दुई वटा भेरियन्टमा ओरिजिनल र रेकनमा उपलब्ध हुने बताइएको छ। ओरिजनल भेरियन्टमा भएको ७.१ किलोवाट ब्याट्री प्याकले एक पटकको फुल चार्जमा २०७ किलोमिटरको दुरी पार गर्न सकिन्छ। यो भनेको काठमाडौंबाट पोखरासम्म बाटोमा बिना चार्ज नै दूरी तय गर्न सक्नु हो। यसमा भएको २७ किलोवाट क्षमताको मोटरको पिक पावर ८५ एनएम रहेको छ।

यस्तै अर्को रेकन भेरियन्टमा भएको १०.३ किलोवाट ब्याट्री प्याकले भने एक पटकको फुल चार्जमा ३०७ किलोमिटर दुरी पार गर्न सकिने कम्पनीको दाबी छ। यो भेरियन्टमा भएको २९ किलोवाट क्षमताको मोटरले ९५ एनएम पिक पावर उत्पादन गर्दछ।

यी दुई भेरियन्टमा १३४० एमएमको ह्वीलबेस छ भने ८०० एमएमसम्मको सिट छ। साथै यसको ग्राउन्ड क्लियरेन्स १६० एमएमसम्म छ।  तीनवटा एयरस्ट्राइक, लेजर र स्याड्यो रंगमा यी बाइक पाइने छन्। यी सबैका आ-आफ्नै फिचर र पर्फर्मेन्स रहेको कम्पनीले जनाएको छ। 

यसमा लिथियम-आयोन ब्याट्री प्याक उपलब्ध छ। साथै यो ब्याट्री आल्मुनियम केसभित्र सुरक्षित तवरले राखिएको छ। यसमा ५ स्टारस्तरको सेफ्टी र प्यासिभ एयर कुलिङ प्रविधि पनि समावेश गरिएको बताइएको छ।

कम्पनीले यो बाइकमा भएको ब्याट्री प्याकमा भेरियन्ट अनुसार ३ वर्षदेखि ५ वर्षसम्मको वारेन्टी दिएको छ। यस्तै लिमिटेड एडिसनको बाइकमा भने ८ वर्षसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ। लिमिटेड एडिसनको लागि भने भारु ५.५ लाख मूल्य तोकिएको छ।

अल्ट्राभिओलेट अटोमोटिभले ल्याएको यो इलेक्ट्रिक बाइक एफ ७७ मोडलको १ सय ९० देशहरुबाट ७० हजार युनिटभन्दा धेरै प्रि-बुकिङ भइसकेको कम्पनीले जनाएको छ।