आइसीटी अवार्ड २०२२ का लागि उत्कृष्ट ५ स्टार्टअप घोषणा, प्रडक्ट र इन्नोभेसनको छनोट



बिजमाण्डू
२०७९ मंसिर ११ गते १०:२८ | Nov 27, 2022


आइसीटी अवार्ड २०२२ का लागि उत्कृष्ट ५ स्टार्टअप घोषणा, प्रडक्ट र इन्नोभेसनको छनोट


काठमाडौं। इन्फोडेभलपर्स आइसीटी अवार्ड २०२२ को तीन विधामा उत्कृष्ट पाँच स्टार्टअपको नाम घोषणा भएको छ। स्टार्टअप अवार्ड, प्रोडक्ट  अवार्ड र राइजिङ स्टार इन्नोभेसन अवार्ड विधामा ३ चरणको छनोटपछि उत्कृष्टको घोषणा गरिएको हो।

Tata
Global Ime

स्टार्टअप अवार्ड विधामा उत्कृष्ट पाँचमा पर्न सफल कम्पनीहरुमा क्युरा हेल्थ, मोनाल टेक, पिक एन्ड ड्रप, रेड टेल फक्स, रिंगेज टेक छन्।

यसैगरी प्रोडक्ट अवार्डतर्फ उत्कृष्ट पाँचमा ‍बिहे नेपाल, फिनपस, गल्ली म्याप्स, टिग र भैरव ट्रीडेन्ट छन्। त्यस्तै राइजिङ स्टार इन्नोभेसन  अवार्ड विधामा आस्क म्याटर्‍याब, अटोनोमस इगल आई युएभी, कारोबार एप, नेप्टु र साराङ छन्। गत कात्तिक २६ गते तीनै विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीले निर्णायकसमक्ष आआफ्ना कामबारे प्रस्तुति दिएका थिए।

उत्कृष्ट पाँचमा पर्न सफल प्रतिस्पर्धीले आइएमइ पे र स्पारो एसएमएसमार्फत पब्लिक भोटिङमा सहभागी हुनुपर्ने अवार्ड आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए। उक्त विधामा जुरीको छनोट, पब्लिक भोटिङ, डेमो र कम्पनीको अवलोकनको आधारमा सर्वोत्कृष्ट छनोट गरिने आयोजक समिति सदस्य सुशील पोखरेलले जानकारी दिए। 

यस बाहेक, उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभसनहरुका लागि पब्लिक च्वाइस अवार्ड २०२२ पनि भोटिङसँगै खुल्ला हुनेछ। पब्लिक भोटिङ मसिंर ९ गते शुक्रवारदेखि २९ गतेसम्म सञ्चालन हुने आयोजक लिभिङ विथ आइसीटीले जानकारी दिएको छ।

यो वर्ष दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड २०२२ को पनि घोषणा गरिएको छ। यो विधामा सातवटा देशबाट ५० भन्दा बढीको नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ। विभिन्न देशका विज्ञहरुको संलग्नतामा यस विधाको विजेताको लागि छनोट प्रक्रिया सञ्चालन भइरहेको जुरी संयोजक हेमपाल श्रेष्ठले बताए। उत्कृष्ट पाँच साउथ एसियन स्टार्टअपहरु ग्राण्ड फिनालेका लागि नेपाल आउने छन्।

इन्फोडेभलपर्स आइसीटी अवार्ड २०२२ को फाइनल पुस ८ गते होटल सोल्टी काठमाडौंमा हुँदैछ।