चीनमा सरकार विरुद्ध प्रदर्शन, ‘सी जिनपिङ स्टेप डाउन’, ‘कम्युनिष्ट पार्टी स्टेप डाउन’ नारा



बिजमाण्डू
२०७९ मंसिर ११ गते १५:३० | Nov 27, 2022


चीनमा सरकार विरुद्ध प्रदर्शन, ‘सी जिनपिङ स्टेप डाउन’, ‘कम्युनिष्ट पार्टी स्टेप डाउन’ नारा


चीनमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। संक्रमण दर बढेसँग सरकारले फेरि कडा प्रतिबन्धहरु घोषणा गरेको छ।

Tata
Global Ime

बुहानबाट देखिएको भाइरसको संक्रमण विश्वभर फैलिएपछि लकडाउनको कहर पनि विश्वभर देखियो। चीनमा पनि लकडाउन र कोरोना परीक्षणलाई कडाइका साथ लागू गरियो। 'जिरो कोभिड' नीति लिएको चीनमा अहिलेसम्म यात्रा प्रतिबन्धहरु कायम छन्। अहिले विश्व कोरोना महामारीलाई बिर्सिँदै गर्दा चीनमा संक्रमण दर बढेको हो। तर, अहिले चीनको परिस्थिति पहिला झै छैन।   

बीबीसीका अनुसार यसपटकको प्रतिबन्धहरुको विरुद्धमा मानिसहरु आन्दोलित भएका छन्। चीनमा सरकारविरुद्ध प्रदर्शन बिरैले मात्र हुने गर्छ। तर, यसपटक भने प्रदर्शनकारीहरुले राष्ट्रपति सी जिनपिङकै राजीनामा मागेका छन्।

प्रतिबन्धविरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गइरहेको बताइएको छ। उरुमकीको एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि प्रदर्शन थप उग्र बनेको हो। यो आगलागीको कारण लकडाउन भएको आरोप उनीहरुले लगाइरहेका छन्। विरोधमा उत्रेका कयौं प्रदर्शनकारी पक्राउ गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

चिनियाँ अधिकारीहरुले आगलागीका कारण उनीहरुको मृत्यु नभएको बताए पनि पछि भने माफी मागेका थिए। विश्वकै व्यापारिक हब मानिने सांघाईमा मानिसहरुले मृतकहरुको सम्झनामा क्यान्डल मार्च गरेका थिए। त्यही प्रदर्शनमा केहीले 'सी जिनपिङ स्टेप डाउन', 'कम्युनिष्ट पार्टी स्टेप डाउन' लगायतका नारा लगाएका थिए। सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको सिधा विरोध गर्न चीनमा मनाही छ। तर, अहिले यस्ता नाराहरु लाग्न थालेपछि प्रहरी चनाखो भएको बताइन्छ। चीनमै पहिलोपटक धेरै मानिसहरु भेला भएर सरकारविरुद्ध प्रदर्शन गरिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

लकडाउनका कारण आजित बनेका नारगरिकहरु स्वस्फूर्त रुपमा प्रदर्शनमा सहभागी भइरहेका छन्। आइतवार सांघाईमा प्रदर्शन मत्थर भए पनि धेरै स्थानमा प्रहरीहरु तैनाथ भएका छन्। तर, बेइजिङ र नानजिङमा भने आगलागीमा मृत्यु भएकाहरुको सम्झनामा सभा गरिएको छ।