
काठमाडौं। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल वायु सेवा निगमबाट ग्राउण्ड ह्यान्डलिङ सेवा नखोस्ने बताएका छन्।
'निगमको मुख्य आयस्रोतनै ग्राउण्ड ह्यान्डलिङ हो। ग्राउण्ड ह्यान्डलिङ खोस्ने वित्तिकै निगमका कर्मचारीले तलब पनि खान नपाउने अवस्था आउँछ र राज्यलाई नै दायित्व थपिन्छ,' उनले बिजमाण्डूसँगको कुराकानीमा भने, 'राज्यको जिम्मेवार नागरिक भएकाले यति मैले सोचेकै छु।' गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ हिमालय एयरलाइन्सलाई दिने कुनै तयारी नभएको समेत अधिकारीले जिकिर गरे।
हाल मुलुकमा कमर्सियल र सेल्फ गरी दुई किसिमको ग्राउण्ड ह्याण्डलिङ संचालन अनुमति दिँदै आएको जानकारी दिँदै हिमालयले सेल्फ ग्राउण्ड ह्यान्डलिङको लागि मात्रै आवेदन दिएको उनले बताए।
हाल मुलुकमा एयर इण्डिया र थाइ एयरवेजले सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको छ। 'प्राधिकरणको नियम अनुसार साताको ३५ वटा भन्दा उडान गर्ने कुनै पनि वायुसेवाले सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न पाउने प्रावधान रहेको छ। अब हिमालय एयरलाइन्सले यो सेवाका लागि पहिलै लाइसेन्स लिइसकेको छ। त्यही आधारमा उसले आवेदन हालेको हो,' उनले भने।
उनले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भने निगमबाट ग्राउण्ड ह्यान्डलिङ सम्भव नरहेको बताए। अधिकारीका अनुसार पोखरामा बोर्डिङ ब्रिज चाहिने र त्यसका लागि आवश्यक जनशक्ति प्राधिकरणसँग मात्रै रहेकोले निगमलाई दिन कठिन छ।
किन काटियो अन्तिम समयमा दिल्ली उडान ?
प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन नगरेको भन्दै गत कात्तिक १३ गते नेपाल वायुसेवा निगमको दिल्ली तर्फको एउटा उडान रद्द गर्यो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नगरेको भन्दै प्राधिकरणले दिल्ली उडान रद्द गरेको थियो। प्राधिकरणका महानिर्देशक अधिकारीले तीन महिना अघिनै गौतम बुद्ध विमानस्थलमा उडानका लागि मौखिक आग्रह गरेको र दुई साता अघि प्राधिकरणबाट आधिकारिक पत्र पठाउँदा पनि अटेर गरेको जिकिर गरे। उनले सेप्टेम्बर २३ तारिखमै लिखित पत्र पठाएर उडान कटौती हुने जानकारी दिएको जानकारी दिए।
'गौतम बुद्धमा हाम्रो १२ अर्ब लगानी छ। त्यसको ब्याज तिरिरहेका छौं। त्यो विमानस्थल चलाउनको लागि सरकारी संस्थालाई पटकपटक आग्रह गरेका थियौं,' उनले भने, 'त्यो आग्रहलाई अटेर गर्ने काम भयो। अझ हामीले उडान कटौती गरेपछि पनि यात्रु ल्याएर बोर्डिङ पास समेत वितरण गरेर विमानस्थलमा हुलहुज्जत गर्ने काम गरियो।'
उनका अनुसार गौतम बुद्धमा अन्तर्राष्ट्रिय एयरलाइन्सलाई उडानका लागि आग्रह गर्दा निगमले नै उडान नगरेको भन्दै प्रश्न गरेपछि बाध्यकारी व्यवस्था गरिएको हो। 'हामीले अरु अन्तर्राष्ट्रिय एयरलाइन्सलाई गौतम बुद्धबाट उडान गर भन्दा तिमीहरुको सरकारी स्वामित्वको जहाजले उडान गरेको छैन भनेर प्रश्न गरे', अधिकारीले भने, 'त्यही भएर निगम र हिमालयलाई आग्रह गरेका थियौं। तर निगमको नेतृत्वले विभिन्न वहानाबाजी गरेर आलटाल गर्यो।' उनले ग्राउण्ड ह्यान्डलिङको जिम्मा लिएकै कम्पनीले गौतम बुद्धबाट उडान नगर्न अनेक बखेडा झिकेको समेत आरोप लगाए।
प्राधिकरणलाई अप्ठेरोमा पार्न दिल्ली-भैरहवा उडान
प्राधिकरणले उडान कटौती गरेपछि निगमले गौतम बुद्ध विमानस्थलबाट उडान गर्न सहमत भयो। त्यही सहमति अनुसार निगमले काठमाडौं-दिल्ली-गौतम बुद्ध-काठमाडौंको सेड्युल प्राधिकरणमा प्रस्ताव गर्यो।
यो प्रस्ताव प्राधिकरणलाई अप्ठेरोमा पार्नका लागि गरिएको अधिकारीको बुझाई छ। 'गौतम बुद्धबाट उडान नगर्नकै लागि निगमबाट यस्तो प्रस्ताव आएको हो। नभए फाइदा नभएको सेक्टरमा राखेर प्राधिकरणलाई बदनाम गराउने उदेश्य उहाँहरुको देखिन्छ,' उनले भने, 'हामीले श्रम गन्तब्य मुलुक मलेसियामा उडान गर्न सुझाब दिएका छौं।'
हिमालयले गौतम बुद्धबाटै मलेसिया उडान गरिरहेको छ। 'हामी गौतम बुद्धमा धेरै विमान उडान अवतरण गरोस भन्ने चाहना राखेर काम गरिरहेका छौं। हाम्रो त्यति धेरै लगानी भएको प्रोजेक्ट सफल बनाउने काममा सरकारी स्वामित्वको निगमले पनि सहयोग हुनेछ भन्ने अपेक्षा छ,' उनले भने, 'निगमले उडान गरेपछि हामीले नेपाल उडान गर्ने अरु कम्पनीलाई एउटा फ्लाइट त्यहाँ गर्न बाध्य बनाउन सक्छौं। हाम्रो उदेश्य त्यो विमानस्थल राम्रोसँग संचालन गर्नु र त्यहाँ वरपरका जनता काठमाडौं धाएर आउन नपरोस् भन्ने हो।'