राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो १० लाख, समानुपातिकतर्फ ८०% मतगणना हुँदा कुन दललाई कति?



बिजमाण्डू
२०७९ मंसिर ११ गते १९:२० | Nov 27, 2022


राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो १० लाख, समानुपातिकतर्फ ८०% मतगणना हुँदा कुन दललाई कति?


काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशतभन्दा बढी मतगणना सम्पन्न भएको छ।

Tata
Global Ime

सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशतभन्दा बढी मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ।

समानुपातिक तर्फ नेकपा एमाले अग्रस्थानमा छ। एमालेले हालसम्म २४ लाख ४३ हजार ३०४ मत पाउँदा नेपाली कांग्रेसले २३ लाख २० हजार ३८९ मत पाएको छ।

यस्तै, नेकपा माओवादी केन्द्रले १० लाख १६ हजार ४२१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी भने १० लाख ८ हजार ६८६ मतका साथ चौथो स्थानमा छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख २७ हजार ४१२ मत पाएको छ भने जनता समाजवादी पार्टी नेपालले ३ लाख ३ हजार २२९, नेकपा एकीकृत समाजवादीले २ लाख ३९ हजार २२९, जनमत पार्टीले २ लाख ३७ हजार ५७४ मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले पनि दुई लाख २ हजार २८१ मत पाएको छ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म १४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ। हाल गणना भइरहेका छ निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आंकलन गरिएको छ। बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा यही मंसिर १० गते पुनः मतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ।

दोलखा र स्याङ्जा सत्तापक्ष तथा प्रतिपक्षबीच विवादका कारण मतपेटिका संकलन भइसके पनि मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरू गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ।