मौद्रिक नीति समीक्षा: वाणिज्य बैंकको स्प्रेडदर ४ प्रतिशत कायम, ऋणको ब्याजदर केही घट्ने



बिजमाण्डू
२०७९ मंसिर ११ गते २०:४८ | Nov 27, 2022


मौद्रिक नीति समीक्षा: वाणिज्य बैंकको स्प्रेडदर ४ प्रतिशत कायम, ऋणको ब्याजदर केही घट्ने


काठमाडौं। नेपाल राष्ट्र बैंकले चर्को ब्याजदरविरुद्ध देशव्यापी आन्दोलन चर्किएपछि स्प्रेडदर घटाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको छ।

Tata
Global Ime

यसबाट बैंक तथा वित्तीय संस्थाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घटेर कर्जाको ब्याजदरमा सन्तुलन आउने राष्ट्र बैंकको विश्वास छ।

मौद्रिक समीक्षामार्फत विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर ५ प्रतिशतबाट  ४.६ प्रतिशत कायम गरिएको छ। स्प्रेड घट्दा बैंकहरु नाफामा भने संकुचन आउनेछ। बैंकको आम्दानी घटाएर राष्ट्र बैंकले ऋणीहरुलाई राहत दिन खोजेको छ। ब्याजदर १८ प्रतिशतसम्म पुगेको भन्दै उद्योगीव्यवसायी देशव्यापीरूपमा आन्दोलनमा उत्रिएका थिए।

चुनाव अगाडि आन्दोलन चर्किएपछि नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिक पदाधिकारी बैठक राखेर आन्दोलन स्थगन गर्न आग्रह गरेको थियो। तर महासंघको आग्रहलाई बेवास्ता गर्दै जनकपुर र नेपालगंजमा आन्दोलन भएको थियो।

आन्दोलन चर्किएपछि गभर्नर महाप्रसाद अधिकारीले महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाललाई मौद्रिक नीतिको समीक्षामार्फत ब्याजदरका बारेमा पुनरावलोकन हुने आश्वासन दिएका थिए। त्यही आश्वासनका आधारमा महासंघले आन्दोलन स्थगितका लागि आग्रह गरेको हो। आश्वासनसँगै उद्योगी व्यवसायीले मंसिर १५ गतेसम्म कुर्ने र नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए।