अफ्रिका-एसिया जोड्ने सबैभन्दा ठूलो कम्पनी बन्ने इथियोपियन एयरलाइन्सको योजना, जहाज थप्दै



बिजमाण्डू
२०७९ मंसिर १२ गते ०९:४५ | Nov 28, 2022


काठमाडौं। कोभिड-१९ संक्रमण नियन्त्रणमा आएसँगै व्यवसाय फस्टाएपछि इथियोपियाको ध्वजावाहक कम्पनी इथियोपियन एयरलाइन्सले एसिया-अफ्रिका जोड्दै उच्च व्यवसायिक कारोबारका लागि योजना बनाएको छ।

Tata
Global Ime

कम्पनीले आउँदो सन् २०३५ सम्म आफ्नो जहाज संख्या २ सय ७१ कायम गर्ने योजना सार्वजनिक गरेको हो। 

गत साता गरिएको यो घोषणामार्फत स्टार अलायन्स अन्तर्गतको कम्पनीले आफूलाई अफ्रिका र एसिया जोड्ने ठूलो कम्पनी बन्ने दाबीसमेत गरेको छ।

कम्पनीले बोइङ ७८७-८ ड्रिमलाइनर सिरीजको जहाज प्रयोग गर्ने बताएको छ।

'भिजन २०३५' योजना अनुसार कम्पनीले आउँदो १२ वर्षको अवधिमा उडान गन्तव्य २ सय ७ र जहाज संख्या २ सय ७१ कायम गर्ने भएको छ।

'भिजन २०३५ मार्फत हामीले आफ्नो जहाज र उडान गन्तव्य दोब्बरले वृद्धि गर्ने उद्देश्य लिएका छौं। यो अवधिमा हामीले साढे ६ करोड यात्रु र ३० लाख टन कार्गो सेवा दिनेछौं। यसका लागि हामीले २५ अर्ब अमेरिकी डलर लगानी गर्ने छौं,' कम्पनीले जारी गरेको विवरणमा उल्लेख छ।