स्टार्टअप रियालिटी शो मिट द ड्रेपर्स-५ मा दुई विजेता, पुरस्कारमा १० मिलियन डलरको लगानी



बिजमाण्डू
२०७९ मंसिर १२ गते १४:५७ | Nov 28, 2022


स्टार्टअप रियालिटी शो मिट द ड्रेपर्स-५ मा दुई विजेता, पुरस्कारमा १० मिलियन डलरको लगानी


काठमाडौं। आइकोनिक स्टार्टअप रियालिटी शो ‘मिट द ड्रेपर्स’ ले भर्खरै दुई स्टार्टअप क्यान्सर फ्री बायोटेक र इट्स स्किनीलाई विजेता घोषित गर्दै पाँचौं सिजन पुरा गरेको छ। 

Tata
Global Ime

नवप्रवर्तन व्यवसायलाई बिजनेस आइडियाका आधारमा सघाउने यो शोको इतिहासमा नै पहिलोपटक दुई स्टार्टअपले अर्बपति लगानीकर्ता टिम ड्रेपरबाट १० मिलियन डलरको ठूलो पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै, दोस्रो, तेस्रो स्थानका विजेता एसेटभल्ट र केए इमेजिङले क्रमश: ५ लाख डलर र  २ लाख ५० हजार डलरको लगानी हात पारेका छन्।

कार्यक्रममा अमेरिका, भारत, क्यानडा, ब्राजिल, ताइवान, पोर्चुगल लगायत संसारका विभिन्न देशका सहभागी उद्यमीहरूले आ-आफ्नो बिजनेस आइडिया प्रख्यात डलर अर्बपति तथा लगानीकर्ता टिम ड्रेपर र ड्रेपर परिवार- बिल ड्रेप्र तथा पोली ड्रेपर समक्ष प्रस्तुत गरेका थिए।

गत अगस्टमा सुरु भएको 'मिट द ड्रेपर्स' सिजन-५ मा ३६ उत्कृष्ट स्टार्टअपहरूले ड्रेपर परिवार तथा लाखौं दर्शक समक्ष आफ्ना आइडियाहरू प्रस्तुति गरेका थिए। 

नौ हप्ताको अवधिमा, टिम ड्रेपर, संस्थापक, ड्रेपर एसोसिएट्स र उनका अन्य सह-निर्णायक, बिल ड्रेपर, संस्थापक, डीआरके फाउन्डेसन र अभिनेत्री, निर्माता र निर्देशक समेत रहेकी पोली ड्रेपरले प्रत्येक प्रतियोगीको क्षमतालाई नजिकबाट विश्लेषण गरेका थिए।

ग्रान्ड फिनालेका लागि छनोट गरिएका स्टार्टअपहरूमा इट्स स्किनी, केए इमेजिङ, नेभर इन्डिङ, क्यान्सर फ्री बायोटेक, एसेटभल्ट, पाइसाइ र भारतीय कम्पनी माइल्ड केयर्स थिए।

पाँचौ सिजनको अन्त्यसँगै मिट द ड्रेपर्स' सिजन-६ का लागि निवेदन पनि खुल्ला गरिएको छ। मीट द ड्रेपर्स नवप्रवर्तन व्यवसायलाई सघाउने अमेरिकी टेलिभिजन कार्यक्रम हो।