हुन्डाईका इलेक्ट्रिक गाडी आयोनिक-५ र कोना किन्न नबिल बैंकले ३ दिनभित्र ऋण दिने



बिजमाण्डू
२०७९ मंसिर १४ गते ०९:२४ | Nov 30, 2022


हुन्डाईका इलेक्ट्रिक गाडी आयोनिक-५ र कोना किन्न नबिल बैंकले ३ दिनभित्र ऋण दिने


काठमाडौं। हुन्डाईको इलेक्ट्रिक गाडी आयोनिक-५ र कोना किन्न नबिल बैंकले ८० प्रतिशतसम्म ऋण दिने भएको छ। सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्न नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

Tata
Global Ime

एक कार्यक्रमका बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

अब हुन्डाईको इभी गाडी किन्ने ग्राहकले यो बैंकबाट सहज रुपमा ८० प्रतिशतसम्मको ऋण पाउनेछन्। समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सजिलो रुपमा कर्जा प्रवाह गर्नेछ।

यस्तै अन्य पेट्रोलियम पदार्थबाट चल्ने गाडी खरिद गर्न व्यक्तिगतलाई ५० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ।

हुन्डाईका विद्युतीय तथा रेगुलर कार किन्नेले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा सहज रुपमा कर्जा पाउने छन्। सबै काजगात पुरा गर्ने ग्राहकले ३ कार्यदिनमा ऋण पाइसक्ने छन्। यसरी प्राप्त गरेको ऋणको अवधि ७ वर्षका लागि हुने सम्झौतामा उल्लेख छ।

बैंकले विद्युतीय गाडी खरिद गर्न व्यक्तिगतलाई ८० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ।

बैंकको अनुसार यो सुविधा नबिल बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ।