काठमाडौं। भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो।
विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले मंगलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो।
संघीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डीजीएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशंकामा जैविक गैर-बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।
वैदेशिक व्यापार नियमन एवं प्रवर्द्धनमा संलग्न उक्त निकायले त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर-बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो।
चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको सरकारी अधिकारीहरूले बताएका छन्।


