काठमाडौं। गोयन्का ग्रुप अन्तर्गतको अरुण एग्रो इन्डष्ट्रिज प्रालिले २०२१/२२ मा एक अर्ब २९ करोड रुपैयाँको कारोबार गरेको छ। कम्पनीले २०२०/२१ मा ९७ करोड र २०१९/२० मा ९२ करोड रुपैयाँको कारोबार गरेको थियो।
मैदा र ब्रानको उत्साहजनक बिक्रीले कम्पनीको कारोबार ह्वात्तै बढेको जनाएको छ। कम्पनीले आटा, मैदा, चोकर, सुजी, दाल लगायत वस्तु उत्पादन र बिक्री वितरण गर्ने गरेको छ।
कम्पनीले २०२२ देखि दाल उत्पादन र बिक्री सुरु गरेको हो। कम्पनीले सहनाइ र हेल्दी फुड ब्राण्डको प्याकेजिङबाट बिक्री गर्ने गरेको छ। कम्पनीको व्यवस्थापन नन्दलाल गोयन्काले हेर्ने गरेका छन्। उनी कम्पनीका अध्यक्ष हुन्।
आवश्यक कच्चा पदार्थ कम्पनीले भारतबाट आयात गर्ने गरेको छ। भन्सार शुल्कको उतार चढावले कम्पनीको नाफामा असर पर्ने गरेको छ। यो बाहेक भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा कम्पनीको कारोबारमा असर परेको थियो।
कम्पनीको सञ्चालन आम्दानीको ८५ देखि ९२ प्रतिशत रकम कच्चा पदार्थको लगातमा खर्च हुने गरेको छ। हाल कम्पनीको उत्पादन क्षमता वार्षिक रुपमा ८३ हजार टन छ। २०२१/२२ मा बजारको माग बढेपछि कम्पनीले ३१ प्रतिशत क्षमता बढाएको हो।
हालै कम्पनीले एक अर्ब २७ करोड रुपैयाँको कर्जा लिएको छ। यसैका लागि कम्पनीले रेटिङ पनि गराएको हो। कुल कर्जा मध्ये २७ करोड ३३ लाख रुपैयाँ दीर्घकालिन कर्जा हो। बाँकी अल्पकालिन कर्जा लिएको छ।


