भूमि आयोगको निर्देशन : सुकुम्बासीलाई हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै काम नगर्नू



बिजमाण्डू
२०७९ मंसिर १६ गते १०:१८ | Dec 2, 2022


भूमि आयोगको निर्देशन : सुकुम्बासीलाई हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै काम नगर्नू


काठमाडौं। राष्ट्रिय भूमि आयोगले तत्काललाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई नहटाउन निर्देशन दिएको छ।

Tata
Global Ime

आयोगले शुक्रवार सूचना जारी गर्दै काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई यस्तो निर्देशन दिएको हो।

लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल सञ्चालन गर्ने गरी आवश्यक तयारी गर्न निर्देशन दिँदै आयोगले लगत संकलन तथा प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्म बस्ती नहटाउन भनेको छ।

‘राष्ट्रिय भूमि आयोग र स्थानीय तहहरूबिच कार्य सहमति पत्रमा हस्ताक्षर भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नका लागि गोरखापत्र राष्ट्रिय दैनिकमा लगत संकलन सम्बन्धी ३५ दिने सूचना प्रकाशित गरिएका स्थानीय तहहरू र विगतका आयोग तथा समितिहरूका बाँकी काम सम्पन्न गर्न ३५ दिने सूचना प्रकाशित भएका जिल्लाहरूमा निर्वाचन आयोगको निर्देशन बमोजिम २०७९ भाद्र ३१ गतेबाट स्थगन गरिएका सम्पूर्ण कार्यहरू निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू नहुने सूचना जारी गरेपश्चात यस आयोगले सूचना प्रकाशन गरी पुनः सञ्चालन गर्नेछ,’ आयोगको सूचना भनिएको छ।

यसअघि, सोमवार वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरका कर्मचारी पुगेपछि थापाथली क्षेत्र तनावग्रस्त बनेको थियो। बस्ती हटाउने भएपछि त्यहाँ बसोबास गर्दै आएका मानिसहरु विरोधमा उत्रिएका थिए। डोजर बस्तीमा छिरेपछि बस्तीमा बस्दै आएकाहरुले ढुङ्गामुढा गर्दै टायरसमेत बालेका थिए।