राष्ट्र बैंकले बैंकहरुसँग माग्यो ५ लाख वा बढीको विदेशी मुद्रा सटही र १० लाख बढीको विवरण



बिजमाण्डू
२०७९ मंसिर १६ गते १५:२७ | Dec 2, 2022


राष्ट्र बैंकले बैंकहरुसँग माग्यो ५ लाख वा बढीको विदेशी मुद्रा सटही र १० लाख बढीको विवरण


काठमाडौं। गैरकानुनी लेनदेन रोक्न कडाइ गर्ने संकेत नेपाल राष्ट्र बैंकले गरेको छ। यसका लागि राष्ट्र बेंकले बैंक तथा वित्तीय संस्थाहरुसँग ५ लाख वा सो भन्दा वढी रकमको विदेशी मुद्रा नगदमा सटही कारोबारको रिपोर्टिङ मागेको छ।

Tata
Global Ime

एक दिनमा एकैपटक वा पटक-पटक गरी गरेको कारोबारको विवरण मागेको हो। यसअघि १० लाखसम्मको कारोबार र ५ लाखसम्मको विदेशी मुद्रा सटहीको विवरण माग्ने गरेको थिएन।

तर, अब भने एक दिनमा कुनै खातामा १० लाख वा सो भन्दा बढी रकमको नगद जम्मा वा खर्चको कारोबार राष्ट्र बैंकलाई रिपोर्टिङ गर्नुपर्ने भएको छ। एकै पटक वा पटक-पटक गरी एक दिनमा गरेको १० लाख वा सो भन्दा बढी रकमको विवरण पनि बुझाउनु पर्नेछ।

संस्थाहरुले जारी गरेका विद्युतीय उपकरण वा कार्डको विदेशमा भएको प्रयोगलाई पनि निरीक्षण गर्न राष्ट्र बैंकले सुझाएको छ। ग्राहकले आफूलाई दिएको जानकारी वा उद्देश्य अनुरुप भए अथवा नभएको अनुगमन गर्नुपर्छ। 

यस्तै, विदेशी बैंक वा वित्तीय संस्थाले जारी गरेको विद्युतीय उपकरण वा कार्डको प्रयोग आफ्नो संयन्त्रमार्फत् भए सोको समेत निरन्तर अनुगमन समेत गर्नु आवश्यक रहेको जनाएको छ।

अनुमति दिएको सीमाभन्दा बढी स्वदेशी वा विदेशी मुद्राको कारोबार गरेमा त्यस्तो कारोबारको विवरण राष्ट्र बैंकलाई बुझाउनु पर्नेछ। कारोबार भएको मितिले १५ दिनभित्र जानकारी इकाईमा उपलब्ध गराउनु पर्नेछ। सो कारोबारका लागि छुट्टाछुट्टै थ्रेसहोल्ड रिपोर्टिङ पेस गर्नु पर्नेछ।