वाग्मतीको मुख्यमन्त्रीमा बानियाँदेखि बहादुरसिंहको चर्चा, माओवादी र समाजवादीको पनि दाबी



२०७९ मंसिर १७ गते २०:५६ | Dec 3, 2022


वाग्मतीको मुख्यमन्त्रीमा बानियाँदेखि बहादुरसिंहको चर्चा, माओवादी र समाजवादीको पनि दाबी


हेटौंडा। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत वाग्मती प्रदेशमा दोलखाबाहेक सबै जिल्लाको मत परिणाम आइसकेको छ। मत परिणाम पुरा नआउँदै वाग्मतीमा प्रदेश सरकार निर्माणका लागि गठबन्धन दलले आन्तरिक कसरत थालेका छन्।

Tata
Global Ime

वाग्मती प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा प्रदेशमा कस्तो र कुन दलको सरकार बन्ला चासो छ। प्रदेशको सार्वजनिक भइसकेको मत परिणामका आधारमा यस प्रदेशको सबभन्दा ठूलो दल कांग्रेस हुने र सरकार सत्ता गठबन्धनको बन्ने देखिएको छ।

दोलखाबाहेक वाग्मतीका १२ जिल्लाको मतगणना सम्पन्न भइसक्दा कांग्रेसले प्रत्यक्षतर्फ २४ सिट जितेको छ भने माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, एकीकृत समाजवादीले ५, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीले एक/एक स्थानमा जितेको छ। वाग्मती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन भएको हो।

यस प्रदेशमा कूल ४४ जना समानुपातिक प्रदेश सांसदमध्ये कसले कति सिट पाउलान् भन्ने टुंगो भइसकेको छैन। यद्यपि वाग्मती प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने निश्चित देखिन्छ। १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तीमा ५६ सांसद आवश्यक पर्छ। अघिल्लो कार्यकालमा तत्कालीन नेकपाको स्पष्ट बहुमत थियो।

सर्वोच्च अदालतको आदेशबाट नेकपा फुटेपछि पनि एमालेले एकल बहुमतको सरकार बनाएको थियो। तर, एमाले पनि विभाजन भएपछि भने साढे ३ वर्ष लामो सरकार बर्हिगमनमा परेको थियो। त्यसपछि हालकै सत्ता गठबन्धनले प्रदेशमा सरकार बनाएको थियो। वाग्मतीमा सत्तारुढ गठबन्धनले हालसम्म ४२ सिटमा जित हात पारिसकेको छ।

समानुपातिकर्फ सिट बाँडफाँट हुँदा गठबन्धनले १४ सिटमात्र पाए पनि सरकार बनाउन पर्याप्त हुन्छ। वाग्मती प्रदेशसभामा आउने समानुपातिक सांसदहरूको टुंगो लागि नसकेको अवस्थामा वाग्मतीको भावी मुख्यमन्त्रीका रुपमा भने विभिन्न नामहरु चर्चामा छन्।

सत्ता गठबन्धनमा रहेको कांग्रेसबाट पार्टी प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ, केन्द्रीय सदस्य बहादुर सिंह लामा, माओवादी केन्द्रबाट हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल र एकीकृत समाजवादीबाट हालका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्रीका दाबेदार हुन्। योमध्ये को मुख्यमन्त्री हुने भन्ने विषय गठबन्धनको भागबण्डासँग जोडिएको छ। 

यसैगरी एमाले गठबन्धनको सरकार हुँदा चितवनबाट निर्वाचित जगन्नाथ थपलिया (जेएन) मुख्यमन्त्रीका दाबेदार हुन्। उनले यसअघि पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरिसकेका छन्। एमालेबाट मुख्यमन्त्रीका ४ जना दाबेदार निर्वाचनमा होमिएका थिए।

चितवनबाटै थपलियासहित देवी ज्ञवाली, काठमाडौंबाट निवर्तमान सभामुखसमेत रहेका सानुकुमार श्रेष्ठ र नुवाकोटबाट पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत भइसकेका पार्टी प्रदेश कमिटी अध्यक्ष केशवप्रसाद पाण्डे निर्वाचन लडेका थिए। तर यी मुख्यमन्त्रीका दाबेदार ४ जनामध्ये चितवनका थपलिया मात्रै निर्वाचित भए।

काठमाडौंका श्रेष्ठ राप्रपाका उम्मेदवारसँगै पराजित भएका थिए। उनले आफू भावी मुख्यमन्त्री भएको दाबी गर्दै आएका थिए। सत्ता गठबन्धन दलमा धेरैजना मुख्यमन्त्रीका आकांक्षी रहेकाले प्रदेशमा राजनीतिक स्थायित्व हुनेमा आशंका व्यक्त गर्न थालिएको छ । मुख्यमन्त्रीका आकांक्षीहरूले आ–आफ्ना दलको नेताका लागि निर्वाचित प्रदेश सांसदहरूसँग छलफल शुरु गरिसकेका छन्।

सत्ता गठबन्धन दल कांग्रेसको संसदीय दलको नेतासमेत रहेका कांग्रेसका वाग्मती प्रदेश सभापति गठबन्धनबाट मुख्य दाबेदार हुन्। सहमति कार्यान्वयन भएको भए यतिबेला वाग्मती प्रदेश सरकारको नेतृत्व बानियाँले गरिरहेका हुन्थे। तर, लिखितरूपमा भएको सहमति पाँच दलीय सत्ता गठबन्धनले नै कार्यान्वयन नगरेपछि प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सरकारको नेतृत्व गर्न बानियाँले पाएनन्। त्यसैले यो कार्यकालमा उनी प्रमुख दाबेदारको रुपमा उभिएका छन्। माओवादी संसदीय दलको नेता तथा हाल प्रदेश सरकारका अर्थमन्त्री जम्मकट्टेल पनि मुख्यमन्त्री बन्ने दौडमा छन्।

उनले आफ्नो मुख्यमन्त्री बन्ने बाटो क्लियर बनाउन निर्वाचनमा कांग्रेसका बानियाँलाई पराजित गर्न सर्कुलर गरेको चर्चासमेत छ। यता केन्द्रबाट प्रदेशमा झरेर प्रदेश सांसद बनेका कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंहको चर्चा उत्तिकै छ। कांग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले आफू प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपछि लामालाई मुख्यमन्त्रीमा सघाउने बचन दिएको चर्चा छ। डिनाले बानियाँकै कारण आफ्नो हार भएको आरोप लगाउँदै मुख्यमन्त्रीमा लामालाई सघाउने चर्चा चलेको हो।

गठबन्धनबाट हाल समाजवादीले सरकारको नेतृत्व गरिरहेको हुँदा अबको सरकारमा समाजवादीले दाबी गरेको भए पनि प्रमुख दाबेदार भने मानिएको छैन।