
काठमाडौं। विभिन्न स्थानीय तहलाई सडक सञ्जालमा जोड्ने पुल निर्माणका लागि १ अर्ब १२ करोड रुपैयाँमा ठेक्का लागेको छ। पुल महाशाखाले शुक्रबार विभिन्न स्थानीय तहलाई सडक सञ्जालमा जोड्ने पुल निर्माण गर्न ठेक्का लगाएको हो।
पूर्व- पश्चिम राजमार्गबाट उत्तर सशत्र प्रहरी क्याम्प नयाँ टोल चेरु टुटेश्वर हुँदै कार्यामारा जोड्ने सडक खण्डमा निर्माण गर्न लागिएको पुलको ठेक्का मरिना कन्स्ट्रक्सन कम्पनीले १६ करोड ६९ लाख ८५ हजार रुपैयाँमा पाएको पुल महाशाखाले जनाएको छ।
यस्तै तनहुँमा रहेको मादी नदी पुल निर्माणको लागि इन्द्रेणी निर्माण सेवाले २० करोड ९ लाख ५३ हजार रुपैयाँमा जिम्मा पाएको छ। यसैगरी नवलपरासीमा रहेको गिरुबारी खोला पुल निर्माणको लागि हिमसगरमाथा कन्स्ट्रक्सनले २० करोड ९९ लाख ४१ हजार रुपैयाँमा ठेक्का पाएको छ।
डिजाइन तथा बिल्ड प्रक्रियामा रिखुवा खोला पुल निर्माणको शान्ती निर्माण सेवाले ३० करोड ६४ लाख ८४ हजार रुपैयाँमा ठेक्का पाएको हो। यसैगरी अर्को कास्कीमा पर्ने सेती नदीको तुल्सीघाटमा बन्ने पुलको इन्द्रेणी निर्माण सेवाले १२ करोड ८० लाख रुपैयाँमा निर्माण गर्ने ठेक्का पाएको छ।
यी सबै पुलहरु १०० मिटरदेखि ६०० मिटर लम्बाईका छन्। यी पुलहरुको ठेक्का पाउने निर्माण व्यवसायीले सम्झौता भएको समयदेखि ३ वर्षसम्ममा निर्माण कार्यसम्पन्न गर्नुपर्ने पुल महाशाखाले जनाएको छ।