किवी सस्तियो, किलोको सात सयसम्म पुगेको चिनियाँ मूलको फल अब बढीमा २५० मात्रै



बिजमाण्डू
२०७९ मंसिर १८ गते १४:४९ | Dec 4, 2022


काठमाडौं। किवीको मूल्य सस्तिएको छ। स्वदेशी उत्पादनको सिजन सुरु भएसँगै बजार मूल्य घट्दै प्रतिकेजी २ सयदेखि २५० रुपैयाँ भएको हो।

Tata
Global Ime

कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार किवीको मूल्य एक महिनायता सस्तिएको हो।

एक महिना अघिसम्म बजार मूल्य बढ्दै प्रतिकेजी ७ सय रुपैयाँसम्‍म पुगेको थियो। स्वदेशी उत्पादन नभएकाले भारतबाट आयात हुँदै आएको थियो।

यसलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने फल मानिन्छ। काठमाडौं उपत्यकामा डेंगीका बिरामी बढ्दा किवीको माग अत्यधिक थियो। आन्तरिक उत्पादन बजारमा आउन ढिला हुँदा मूल्य बढेको थियो।

बजारमा स्वदेशी उत्पादन भित्रिन थालेपछि मूल्य घट्न थालेको कालीमाटी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। 'यतिबेला स्वदेशी किवीको सिजन हो। नेपाली उत्पादन नै बजारमा आउन थालेपछि भाउ घटेको छ,' उनले भने।

अफसिजनको समयमा बाहिरी मुलुकबाट आयात भएको किवीले राम्रो बजार मूल्य पाउने गरेको छ। स्वदेशी उत्पादन आउने समयमा मूल्य घट्ने गरेको छ ।

'बाहिरबाट आयातित किवी ठुला दाना र स्वादिलो हुन्छ। यहाँको साना दाना र स्वादमा पनि फरक पर्ने गरेको छ। यसले गर्दा पनि बजार मूल्यमा प्रभाव परेको हो,' श्रेष्ठले भने। किवी उत्पादनको गुणस्तर, आकार र बजारमा मागको आधारमा मूल्य निर्धारण गर्ने गरिएको छ। 

हरेक वर्ष आयातितका तुलनामा स्वदेशी सस्तो हुने सूचना अधिकारी श्रेष्ठले बताए।

चीनबाट फैलिएर संसारका विभिन्न भागमा पुगेको मानिने किवीको खेती नेपामा पनि हुन्छ। व्यवसायीका अनुसार अन्य फलफूलका तुलनामा किवीको व्यापार उत्साहजनक छैन। स्थानीय बजारमा किवी खाने उपभोक्ता कम छन्। स्वदेशमै उत्पादन हुने भए पनि यसको खपत कम छ।

तिहार अघिसम्म डेगीका बिरामी धेरै भएका कारण माग धेरै थियो। अन्य समयमा सीमित उपभोक्ताबाहेक किवी खोज्ने कमै हुन्छन्। महत्त्व प्रचार नहुँदा खपत बढ्न सकेको छैन ।

सामान्यतया बजारमा बिक्री हुने फलफूलमा केरा, स्याउ बढी खोजिन्छ। कालिमाटी बजारका अनुसार गत वैशाखदेखि हालसम्म करिब ३ देखि ४ टन किवी भित्रिएको छ।

पछिल्लो समय नेपालमा खेती बढ्दै छ। तर, यसबारे उचित जानकारी नहुँदा गुणस्तर कम भएको कालीमाटी बजारले जनाएको छ ।