काठमाडौं। नोभेम्बरमा हवाई यातायातमार्फत नेपाल भ्रमणमा आउने सबैभन्दा धेरै दक्षिण एसियाली मुलुकबाटै भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा विश्वका विभीन्न क्षेत्रमध्ये दक्षिण एसियाली मुलुकबाट २४ हजार ५ सय ९९ पर्यटक नेपाल आएका हुन्। यो संख्या कुल पर्यटकहरुको ३४ प्रतिशत हो। यी मध्ये भारतबाट मात्रै २० हजार पाँच सय २५ पर्यटक भित्रिएका छन्।
पर्यटन बोर्डका अनुसार नोभेम्बरमा विदेशी पर्यटकको आवागमन ५६ प्रतिशत कायम भएको छ। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै विदेशी पर्यटक आवगमन दर सामान्य अवस्थामा पुगेको बोर्डले जनाएको छ।
बोर्डले तयार पारेको विवरण अनुसार यो वर्ष नोभेम्बरमा ७२ हजार ६ सय ५३ पर्यटकको आवगमन भएको छ। यस अघि सन् २०१९ मा एक लाख ३० हजार तीनसय दुई जना पर्यटकको आवगमन भएको थियो।
यो वर्षमा ११ महिनाको अवधि (जनवरीदेखि नोभेम्बर) मा पाँच लाख ४६ हजार दुई सय १६ जना विदेशी पर्यटक भ्रमणका लागि आएको बोर्डले तयार पारेको विवरणमा उल्लेख गरिएको छ।
यो महिना एसिया, युरोप, ओसियाना, अमेरिका, मध्यपूर्वलगायत अन्य क्षेत्रबाट क्रमश साढे नौ हजार, १७ हजार, साढे तीन हजार, सात हजार आठ सय, पर्यटक भित्रिएको बोर्डले जनाएको छ।
कोभिड संक्रमण अवस्थाको तुलनामा विदेशी पर्यटकको आवगमन कमै रहेपनि मुलुकको पर्यटन उद्योगले क्रमिक रुपमा गति लिन सुरु गरेको व्यवसायीले जनाएका छन्।