चलखेलको आरोपमा कारोबार रोक्का गरिएको रिडी पावरको सेयर कारोबार फुकुवा



बिजमाण्डू
२०७९ मंसिर १८ गते १६:१७ | Dec 4, 2022


काठमाडौं। रिडी पावर कम्पनीको सेयर कारोबार फुकुवा भएको छ। चलखेलको आरोपमा गत मंसिर ६ गतेबाट रोक्का रहेको कम्पनीको सेयर कारोबार नेप्सेले सचेत गराउँदै आइतबार फुकुवा गरेको हो।

Tata
Global Ime

नेप्सेका अनुसार कम्पनीले सेयर कारोबार भइरहेकै समयमा बोर्डको बैठक राखेर गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ४० प्रतिशत बोनस सेयर र २.१० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।

तर कम्पनीले सो जानकारी सोही दिनको ३.५५ मा मात्र नेप्सेमा गराएको थियो। तसर्थ कम्पनीले के कारणले नेप्सेको कारोबार समयभित्र संचालक समितिको बैठक बसेर लाभांशको प्रस्ताव गरेको हो ? के कारणले समयमा नै जानकारी नदिएको हो ? भन्दै कम्पनीसँग नेप्सेले स्पष्टीकरण समेत माग गरेको थियो।

कम्पनीले सो सम्बन्धमा भुलबस समय अन्यथा हुन पुगेको र आगामी दिनमा त्यस्ता कमीकमजोरी नगर्ने प्रतिवद्धता जनाउँदै माफी समेत मागेको छ।

नेप्सेले कम्पनीलाइ धितोपत्र सूचीकरण विनियमावली २०७५ को अक्षरस पालना गर्न सचेत गराउँदै रोक्का रहेको कारोबार फुकुवा गरिएको जनाएको छ। नेप्सेले कम्पनीको सेयर कारोबार मंसिर १९ गतेबाट लागु हुने गरि फुकुवा गरेको हो।