सिंगापुर एयरलाइन्स र थाइ एयरवेजबीच रणनीतिक साझेदारी, क्षमता विस्तारका लागि कोड सेयरिङ उडान



बिजमाण्डू
२०७९ मंसिर १९ गते १०:५५ | Dec 5, 2022


सिंगापुर एयरलाइन्स र थाइ एयरवेजबीच रणनीतिक साझेदारी, क्षमता विस्तारका लागि कोड सेयरिङ उडान


काठमाडौं। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै सिंगापुर एयरलाइन्स र थाइ एयरवेज एकसाथ क्षमता विस्तारमा जुट्ने भएका छन्। उडान क्षमता विस्तारका लागि यी दुई वायुसेवाबीच रणनीतिक सम्झौता भएको छ।

Tata
Global Ime

दुई कम्पनीले कोड सेयरिङमार्फत दक्षिण अफ्रीका, हस्टन, लसएन्जल्स, न्युयोर्क, सनफ्रान्सिस्को, युके, क्यानडा लगायतमा उडान गर्ने सम्झौता रहेको जनाइएको छ।

यो सम्झौता अनुसार सिंगापुर एयरलाइन्सले चाङ्गी एयरपोर्टबाट न्युयोर्कको जोनएफ केनेडी इन्टरनेशनल एयरपोर्ट र नेवार्क लिबर्टी इन्टरनेशनल एयरपोर्टमा उडान गर्नेछन्। कोड सेयरिङका लागि स्वीकृति पाएसँगै यी दुई कम्पनीले युरोप, भारत, साउथ वेष्ट प्यासिफिक लगायत क्षेत्रमा उडान गर्ने जनाइएको छ।

'सिंगापुर र थाइ एयरवेजबीच लामो समयदेखि निकट सम्बन्ध छ। 'सम्झौतामार्फत दुवै वायुसेवाको क्षमता अझ विस्तार हुनेछ। अब दक्षिण एसियासँगै विश्वका विभिन्न मुलुकमा हाम्रो व्यवसायिक योजना अनुसार उडान सेवा विस्तार हुनेछ,' सिंगापुर एयरलाइन्सका सीइओ गो चुन फोङले भनेका छन्।

थाइ एयरवेजका कार्यकारी सीइओ शुभधा सिवुनरुवाङले यो सम्झौतामार्फत अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, युरोप, भारत लगायत क्षेत्रमा उडान विस्तार हुने बताएका छन्।

दुवै वायुसेवा कम्पनीले पछिल्लो समय कोभिड संक्रमण नियन्त्रणमा आएसँगै हवाई उडानतर्फ यात्रु माग उल्लेख्य रहेको जनाएका छन्। गत फेब्रुअरीमा बोर्डर खुला गरेको थाइ एयरवेजले ग्राउण्डेड गराइएको एयरबस ३८० सिरिजको जहाज पुनः संचालनमा ल्याउने योजना छ।

यो वायुसेवाले सन् २०२२ को तेस्रो त्रैमासमा गत वर्षको तुलनामा १७३ प्रतिशत नाफा आर्जन गरेको जनाएको छ। कम्पनीका अनुसार यो समयमा १०८.४ मिलियन डलर मुनाफा आर्जन भएको छ।