काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको मनमुटावको तुष अझै पनि मेटिएको छैन। आफूलाई निलम्बन गरेको भन्दै गभर्नर अधिकारी अझै पनि शर्मासँग तुस पालिरहेका छन्।
शर्मा पनि गभर्नर अधिकारीप्रति इख नै राखेर बसिरहेका छन्। त्यसका केही बाछिटा प्रत्येक कार्यक्रममा देखिन्छन्। औपचारिक होस् वा अनौपचारिक कार्यक्रम दुवैले एकले अर्कालाई छेडछाड गर्न भ्याइहाल्छन्।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको भेटमा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीविरुद्ध प्रस्तुत भइहाले। महासंघ अध्यक्ष शेखर गोल्छासहित गएको टोलीले अर्थतन्त्र जोगाउन पहल गर्न भन्दै मौद्रिक नीतिको त्रैमासिक समीक्षाले समेत समस्या सम्बोधन गर्न नसकेको जानकारी गराएका थिए। यो जानकारी गराउने बित्तिकै अर्थमन्त्री शर्माले प्रतिउत्तर दिँदै भनिहाले- 'यो मुद्दा तपाईँहरुले चर्कोरूपमा उठाउनै सक्नुभएको छैन। त्यही भएर समस्या समाधान भएको छैन।'
अर्थमन्त्री शर्माले घुमाउरो पारामा महासंघ अध्यक्ष गोल्छालाई गभर्नर महाप्रसाद अधिकारीविरुद्ध उत्रिन 'प्रोभोक' गरेका थिए। शर्माको अभिव्यक्ति शेखरले बुझिसकेका थिए। शर्माले भनेको विषयमा शेखरले कुनै उत्तर दिएनन्। तर अर्थमन्त्रालयबाट तल झर्नेबित्तिकै पदाधिकारीलाई शेखरले भनिहाले- 'अर्थमन्त्रीले हामीलाई प्रोभोक गर्न खोजे। हामी किन प्रयोग हुने ?' उनले अर्थमन्त्री शर्मा र गभर्नरबीचको लडाईँमा महासंघ प्रयोग हुन नहुने स्पष्ट पारेका थिए।


