क्यानको निर्णय एकपछि अर्को फिर्ता, गौतम बुद्धबाट अनिवार्य व्यवसायिक उडान स्थगित



२०७९ मंसिर १९ गते २१:४० | Dec 5, 2022


क्यानको निर्णय एकपछि अर्को फिर्ता, गौतम बुद्धबाट अनिवार्य व्यवसायिक उडान स्थगित


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यवसायिक  उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको छ।

Tata
Global Ime

प्राधिकरणले चार महिनाका लागि बाध्यकारी व्यवस्था स्थगित गरिएको सुचना जारी गरेको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतम बुद्ध विमानस्थल चलाउन भन्दै व्यवसायिक उडानका लागि बाध्यकारी निर्देशन दिएका थिए। निर्देशन अनुसार उडान नगरेको भन्दै उनै अधिकारीले नेपाल वायुसेवा निगमको काठमाडौ-दिल्ली उडान नै कटौती गरेका थिए।

अधिकारीले तजविजीका आधारमा नेपाली वायुसेवा कम्पनीलाई अक्टोबर १ तारिख र विदेशी वायुसेवा कम्पनीलाई डिसेम्बर १५ तारिखबाट व्यवसायिक उडान गर्नुपर्ने निर्देशन जारी भएको थियो। बाध्यकारी व्यवस्थाप्रति अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु असन्तुष्ट थिए। स्रोतका अनुसार केही कम्पनीहरु प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगेर अधिकारीको निर्देशन अनुसार उडान गर्न नसक्ने जनाउ दिएका थिए।

‘कुनै पनि कम्पनीले व्यवसायिक उडान गर्दा नाफाघाटा हेर्छ। गौतम बुद्धबाट उडान गर्न आवश्यक यात्रुनै छैनन्,’ ती कम्पनीका प्रतिनिधिहरुले भनेका थिए, ‘हामीले नेपाल उडान नै स्थगित गर्नुपर्ने अवस्था आउन सक्छ।’ उनीहरुले महानिर्देशक अधिकारीले हेपाहा शैली प्रस्तुत भएको भन्दै गुनासो समेत गरेका थिए।

विदेशी अन्तर्राष्ट्रिय कम्पनीको तीब्र विरोधपछि महानिर्देशक अधिकारीले बाध्यकारी व्यवस्था तत्कालका लागि स्थगित गरेका हुन्। ‘महानिर्देशक अधिकारीले आफुखुशी प्राधिकरण चलाउनुभएको छ। उहाँको शैलीबाट कुनै पनि कम्पनीका प्रतिनिधि खुशी छैनन्,’ विदेशी वायुसेवा कम्पनीको एक प्रतिनिधिले बिजमाण्डूसँग भने।

तर महानिर्देशक अधिकारी भने आफूले गौतम बुद्धलाई व्यवसायिक रुपमा सफल बनाउन मात्रै बाध्यकारी व्यवस्था ल्याएको बताउने गरेका छन्। ‘हाम्रो गौतम बुद्धमा १२ अर्ब रुपैयाँ ऋण छ। त्यो ऋण तिर्न पनि त्यो विमानस्थल जुनसुकै हालतमा चलाउनुपर्छ भनेर म कस्सिएको हो,’ उनले केही दिन अघि बिजमाण्डूसँग भनेका थिए, ‘काम गर्ने मान्छेलाई यहाँ केही गर्न दिँदैनन्।’

अधिकारीले पछिल्लो समयमा गरेका केही निर्णय विवादास्पद बने। उनले निगमले उडान नगरेको भन्दै गौतम बुद्ध विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको जिम्मा हिमालय एयरलाइन्सलाई दिने तयारी गरेका थिए।

तर यो निर्णयप्रति पनि भारतले गम्भीर असहमति जनायो। हिमालय एयरलाइन्समा चिनियाँ लगानी रहेको र उसलाई ग्राउण्ड ह्यान्डलिङ दिने विषय गम्भीर भएको भारतले जनाएको थियो। भारतले अहिलेसम्म पनि हिमालयलाई आफ्नो देशमा उडान अनुमति दिएको छैन। भारतको असहमतिसँगै हिमालयले गौतम बुद्धको व्यवसायिक ग्राउण्ड ह्यान्डलिङ जिम्मा दिने तयारी रोकिएको छ।