सडक विभागले पहिलो त्रैमासमा जम्मा ३८ किमि कालोपत्रे गर्‍यो, ७ अर्ब रुपैयाँ मात्रै भयो खर्च



बिजमाण्डू
२०७९ मंसिर २० गते ०९:३८ | Dec 6, 2022


सडक विभागले पहिलो त्रैमासमा जम्मा ३८ किमि कालोपत्रे गर्‍यो, ७ अर्ब रुपैयाँ मात्रै भयो खर्च


काठमाडौं। सडक विभागले तीन महिनामा जम्मा ३८ किलोमिटर मात्रै सडक कालोपत्रे गरेको छ। विभागले चालू आवको पहिलो त्रैमासमा  २१५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। तर विभागले उक्त लक्ष्यको १७ प्रतिशत मात्र काम गरेको छ।

Tata
Global Ime

यस्तै ग्राबेल स्तरको सडक ४४ किलोमिटर सम्पन्न भएको छ। यसको त्रैमासिक लक्ष्य १३८ किलोमिटर सम्पन्न गर्ने थियो। यसैगरी उक्त अवधिमा ११ वटा साना ठुला पुलको निर्माण सम्पन्न भएका छन्। विभागको पहिलो त्रैमासिक लक्ष्य भने ६१ वटा साना ठुला पुल निर्माण गर्ने थियो।

कालोपत्रे स्तरको सडक पुन: निर्माण तथा पुनर्स्थापना ९५ किलोमिटर गर्ने लक्ष्यमा तीन महिनामा जम्मा ९ किलोमिटर सकिएको छ। सडकको आवधिक मर्मत गर्ने काम पनि ९ किलोमिटर मात्र सकिएको विभागले जनाएको छ। विभागले १२० किलोमिटर सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

विभागका अनुसार वार्षिक रुपमा पहिलो त्रैमासिकको काम हेर्ने हो भने तीन महिनामा जम्मा ५.६१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। यस्तै तीन महिनामा विभागले ६ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ। उक्त अवधिमा ३४ अर्ब ६ करोड रुपैयाँ खर्च गर्नुपर्ने लक्ष्य थियो।

यो खर्च र भौतिक प्रगति कोरोनाकालको भन्दा पनि कम हो। कोरोनाको समयमा विभागले ११ प्रतिशतसम्म खर्च गरेको थियो। त्यही अनुसार निर्माण कार्य पनि भएको थियो। विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११.२ प्रतिशत खर्च भएको थियो। 

तीन महिनामा कुन आयोजनामा कति प्रगति ?

मध्यपहाडी राजमार्गमा तीन महिना १७ किलोमिटर कालोपत्रे गर्ने काम सकिएको छ। यस आयोजनाले तीन महिनामा ३५७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। यस्तै हुलाकी राजमार्ग आयोजनाले पहिलो त्रैमासिकमा कालोपत्रे गर्ने लक्ष्य २५० किलोमिटर राखेको थियो। तर कालोपत्रे गर्ने काम ४ किलोमिटर मात्र सकिएको विभागले जनाएको छ।

विभागका अनुसार कालीगण्डकी करिडोर उत्तर खण्ड बेनी- जोमसोम- कोरोला कालोपत्रे गर्ने काम १ किलोमिटर मात्र सम्पन्न भएको छ। यस आयोजनाले २० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

गल्छी- त्रिशुली- स्याफ्रुबेसी- रसुवागढी सडक आयोजनामा पनि लक्ष्य अनुसार कालोपत्रे भएको छैन। पहिलो त्रैमासिकमा ७.५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा जम्मा २ किलोमिटरको मात्र काम सकिएको छ।

यस्तै पूर्व पश्चिम राजमार्ग ४ लेन विस्तार आयोजनामा ९० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएकोमा एक किलोमिटर सडकको पनि निर्माण कार्य नभएको विभागको प्रगति रिपोर्टमा उल्लेख छ।

यसैगरी कर्णाली करिडोरको ट्रयाक निर्माण गर्ने काम ६ किलोमिटर मात्रै सकिएको विभागले जनाएको छ।