टीआइएको धावनमार्ग मर्मत समय धकेलिएसँगै भैरहवा उडान स्थानान्तरण मार्चबाट, नेवानिलाई राहत



बिजमाण्डू
२०७९ मंसिर २० गते १०:२३ | Dec 6, 2022


टीआइएको धावनमार्ग मर्मत समय धकेलिएसँगै भैरहवा उडान स्थानान्तरण मार्चबाट, नेवानिलाई राहत


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको समय पछाडि सारिएपछि नेपाल वायुसेवा निगमलाई उडान व्यवस्थापन सहज भएको छ।काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडानलाई भैरहवाबाट गराउने योजना हालका लागि स्थगित हुँदा राहत भएको हो।

Tata
Global Ime

डिसेम्बरबाटै मर्मत सम्भार गर्ने भनिएको थियो तर धावनमार्गको कामका लागि स्पेनिस कम्पनी सान्जोसेको निर्माण सामाग्री हटाउन नसक्दा समय सारिएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

धावनमार्ग मर्मतको पूर्वनिर्धारित योजना पछाडि सरेसँगै प्राधिकरणले अक्टोबरबाट लागू हुने गरी कटौती भएको नेपाली वायुसेवा कम्पनीको नियमित उडान तालिका फुकुवा गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नेपाल वायुसेवा निगमको १४ वटा उडान कटौतीमा परेका थिए। डिसेम्बर १९ बाट लागु हुनेगरी फुकुवा गरिएको उनले जानकारी दिए।

'हामीले डिसेम्बर १६ तारिखबाट रनवे रिह्‍याबबिलिटेसनको काम सुरु गर्ने योजना बनाएका थियौं। त्यही अनुसार यहाँको ट्राफिक व्यवस्थापन हुने गरि अन्तर्राष्ट्रिय वायुसेवालाई भैरहवा सिफ्ट गर्ने योजना थियो,' सूचना अधिकारी भुलले भने, 'तर, पहिलाको कम्पनी सान्जोसेको सामान क्लियर नभएको कारण यो काम मार्चमा सारिएको छ।'

दुई पटकसम्म टेन्डर गर्दा पनि सामान पन्छाउन कुनै पनि कम्पनीले चासो नदेखाएपछि पुनः टेन्डर प्रक्रिया सुरु गर्न लागेको उनले बताए। हवाई यातायात अभिवृद्धि आयोजनाको अनुरोधमा यो निर्णय गरिएको उनले जानकारी दिए।

मर्मत सम्भारका लागि प्राधिकरणले राती १० देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरिने जनाएको छ। उडान भैरहवाबाट गर्न नेवानिलाई व्यवस्थापन गाह्रो भइरहेको थियो। टीआइए धावनमार्ग मर्मतको समय पछि सर्दा केही समय काठमाडौंबाट भइरहेका उडान नियमित गर्न नेवानिलाई सहज भएको छ।