काठमाडौं। मर्जरको सहमतिपछि प्रक्रिया अघि बढाउन ढिला गरिरहेका दुई लघुवित्त कम्पनीले सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव अघि सारेका हुन्।
आरएमडीसीले कुल चुक्ता पुँजी १ अर्ब २४ करोडको २७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। लघुवित्त सञ्चालक समितिको सोमबार भएको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तले २६ प्रतिशतले हुन आउने ३२ करोड २६ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको छ भने लाभांश प्रयोजनका लागि १.३६ प्रतिशतले हुन आउने १ करोड ६९ लाख बराबरको नगद लाभांश वितरण गर्ने छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरुलाई वितरण गरिने छ। लघुवित्तले अघिल्लो आर्थिक वर्ष लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो।
यसैगरी साना किसान विकास लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। लघुवित्तले गत आर्थिक वर्षका लागि चुक्ता पुँजी १ अर्ब ५६ करोडको जम्मा २७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।
उक्त लाभांशमध्ये लघुवित्तले २६ प्रतिशतले हुन आउने ४० करोड ६७ लाख बोनस सेयर वितरण गर्ने भएको छ भने कर प्रयोजनका लागि १.३६ प्रतिशतले हुने २ करोड १४ लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।
लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाइ २५ प्रतिशत बोनस सेयर तथा १.३१ प्रतिशत गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गरेको थियो।
लघुवित्तले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश केन्द्रीय बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालाइ वितरण गरिने छ।


