रसुवा भन्सारले जाँचपास गरेको गाडीबाट बीच बाटोमै सामान गायब, अनुसन्धान विभागले समात्यो



२०७९ मंसिर २० गते १२:०८ | Dec 6, 2022


रसुवा भन्सारले जाँचपास गरेको गाडीबाट बीच बाटोमै सामान गायब, अनुसन्धान विभागले समात्यो


काठमाडौं। रसुवा भन्सार कार्यालयले जाँचपास गरेका २ ट्रकमा राजस्व अनुसन्धान विभागले केही दिनअघि छापा मार्‍यो। विशेष सूचनाका आधारमा विभागको टोलीले छापा मार्दा एउटा ट्रकमा भन्सारबाट जाँचपास भएको सामान भेटियो। अर्को ट्रक बाटोमै सिल तोडिएको अवस्थामा खाली फेला पर्‍यो।

Tata
Global Ime

भीसीटीएस प्रणालीअनुसार भन्सारबाट छुट्ने ढुवानीका साधनले मालवस्तु कहाँ पुर्‍याएर झार्ने भन्ने प्रष्ट हुन्छ। तर विभागले बाटैमा रोकेका ट्रकहरुमध्ये एउटामा सामान हुनु र अर्को खालि भेटेपछि शंकास्पद भन्दै अनुसन्धान अघि बढाएको छ। चालकसहित दुवै ट्रक नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

चालक र सहचालकलाई विभागले केही दिन थुनामा राखेर छाडेको छ। स्रोतका अनुसार २५ लाख धरौटी लिई चालक र सहचालकलाई छोडेको हो। सवारीधनी र सामानका धनीविरुद्ध भने पक्राउ पुर्जी जारी गरेको छ। 

विभाग महानिर्देशक मदन दाहाल हाल भारत भ्रमणमा छन्। उनी फर्किएपछि यो घटनामाथि थप अनुसन्धान अघि बढ्ने विभागका एक कर्मचारीले बताए।  

विभागले ट्रक नियन्त्रणमा लिएको घटनामा भन्सार जाँचपासमा कुनै कैफियत नरहेको रसुवा भन्सार कार्यालयका प्रमुख नारायण भण्डारीले बताए। ‘हामीले गाडीलाई पूर्णरुपमा चेकजाँच गरी राजस्व बुझेर सिल गरेर पठाएका हौं। राजस्व अनुसन्धानले छड्के जाँच गर्दा फेला पार्‍यो भन्ने सुनेको छु, मैले व्यापारीलाई सोध्दा सामान गोदाममा पुर्‍याएर फर्किएको भनेको छ,' उनले भने, 'अनुसन्धानको भनाइ के छ हामीलाई थाहा भएन।’ 

भन्सारबाट प्रक्रिया पुरा गरेर गएका मालवस्तुमा कुनै कैफियतको सूचना नआएको उनले बताए। ‘एउटा ट्रक खाली र अर्को सामानसहित लगेको छ रे भन्ने सुनेको हुँ। व्यापारी मैले सामान खन्याएर फर्किदा समातेको भनेको छ, मलाई थाहा भएको यति मात्रै हो,' उनले भने, 'यति कुरा स्पष्ट छ हामीले कानुन बमोजिम लाग्ने राजस्व असुल गरेर मात्रै भन्सार जाँचपास गरेका हौं। बाटोमा के-के भयो थाहा भएन।’

भन्सारबाट ट्रक छुटेपछि कहाँ लगेर सिल फुटाउँछन् के गर्छन् भन्नेमा कार्यालयको जिम्मा नहुने प्रमुख भण्डारीको भनाइ छ। 

भण्डारीले रसुवा भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको २ महिना भएको छ। उनी अघिका प्रमुख रामप्रसाद मैनालीलाई ९ महिनामा नै भन्सार विभाग तानिएको छ।

सामान्यतय रसुवा र तातोपानी कार्यालयलाई दुर्गम भन्सार कार्यालयको रुपमा मानिन्छ। यी कार्यालयमा १ वर्ष पुरा गरे उपसचिवका लागि सहसचिव  बढुवामा दुर्गममा बसी सेवा गरेको भनि नम्बर जोडिन्छ। यसकारण यी कार्यालयमा प्रमुख बन्न उपसचिवबीच हानथाप हुने गरेको छ। 

यस कार्यालयमा अनुसन्धान विभागले १ वर्षअघि प्रमुख रहेका रामप्रसाद रेग्मीले जाँचपास गरेको सवारीमा कैफियत भेटेपछि भन्सार विभागले उनको सुरुवा गरेको थियो। रेग्मीपछि विभागले मैनालीलाई पठाएको थियो। 

अहिले अनुसन्धान विभागले भेहिकल कन्साइन्मेन्ट (भीसीटिएस) लागू गरेको छ। यो प्रणालीले कुन ट्रक कहाँबाट छुट्यो र कहाँ पुर्‍याएर सामाग्री अनलोड गर्‍यो भन्ने ट्रयाक गर्न सकिन्छ। सोही ट्रयाकिङ प्रणालीबाट ट्रक विभागले नियन्त्रणमा लिएको अनुमान गरिएको छ।   

भन्सार कार्यालयले जाँचपास गरी छाडिएको ट्रकलाई अनुसन्धान विभागले पक्राउ गरेपछि दुई सरकारी निकायबिच विवाद चर्किएको छ।

अनुसन्धान विभागले प्रमुख राजस्व छलीको केन्द्र नै भन्सार कार्यालय बन्ने गरेको आरोप लगाएको छ। विभागका एक कर्मचारीले भने ‘६ अमेरिकी डलरको सामाग्री २ डलरमै छाड्ने गरेको पाइएको छ, त्यसैले हामीले अनुगमनलाई तीव्रता दिएका छौं।’ विभागले अहिले न्यून बिजकिकरणलाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको जनाएको छ।

विभाग स्रोतका अनुसार तोकिएको मूल्यभन्दा निकै कममा बिजक बनाएर भन्सार जाँचपास हुने गरेका घटना पाइएका छन्। अनुसन्धान विभाग स्रोतले भन्यो ‘जुनसुकै सामाग्रीको बिल बिजक र डकुमेन्ट न्युरोडको एक बनाउने गर्ने भेटिएको गरेको छ, यसरी हुण्डीमार्फत विदेश पैसा पठाउने गरेका छन्।’

वास्तविक मूल्यभन्दा कम मूल्यमा भन्सार जाँचपास हुँदा समग्र करमा असर देखिने गरेको छ। अहिले भन्सार र आन्तरिक राजस्वमा देखिएको राजस्वको ठूलो समस्या नै न्युन बिजकिकरण हो।    

विभाग महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका मदन दाहालले अहिले धमाधम छड्के चेकजाँचलाई बढाएका छन्। दाहालले राजस्वमा प्रगति देखिने गरी बजार अनुसन्धानलाई अघि बढाएका हुन्। स्रोतका अनुसार अन्य क्षेत्र भन्दा भन्सारमा हुने छलिलाई रोकेर उनले राजस्वमा नतिजा देखाउनेगरी काम सुरु गरेका छन्। 

स्रोतले भन्यो ‘दाहालले महानिर्देशकमा आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको छ, अन्य फाइल अध्ययन गरेर नतिजा निकाल्न धेरै समय लाग्ने भन्दै भन्सारबाट तत्काल नतिजा निस्कने भन्दै महानिर्देशक कस्सिनु भएको छ।’

भन्सारले बनायो अध्ययन समिति

भन्सार कार्यालयले जाँचपास गरेको सवारी अनुसन्धान विभागले समात्न थालेपछि विभागले अध्ययन समिति गठन गरेको छ। ट्रक समातिनुको कारणबारे अध्ययन गर्न विभागले अध्ययन सुरु गरेको हो।

यद्यपि अनुसन्धान विभागले गरिरहेको अनुसन्धानका बीच विभागले समिति बनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसले दुई विभाग बीचको विवादलाई स्पष्ट देखाएको छ।