उपप्रमुख डंगोलको निर्देशनपछि काठमाडौंका आकाशे पुल मर्मत गर्दै महानगर



बिजमाण्डू
२०७९ मंसिर २० गते १५:३८ | Dec 6, 2022


उपप्रमुख डंगोलको निर्देशनपछि काठमाडौंका आकाशे पुल मर्मत गर्दै महानगर


काठमाडौं। काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ। हाल महानगरभित्र नयाँ र पुराना गरि १० वटा पुल संचालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्।

Tata
Global Ime

काठमाडौं महानगरपालिकाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण गरेको हो भने पुराना पुल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएका हुन्। पुराना पुलको अवस्था बुझ्न प्राविधिकलाई निर्देशन दिइएको र प्राविधिकको स्थलगत निरीक्षणपछि मर्मतको काम अघि बढ्ने महानगरले जानकारी दिएको छ।

महानगरको लगानीमा निर्माण भएका बाहेक पुल निजी क्षेत्रले बनाएकाले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने महानगरको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेको भनाइ छ।

दुई दिनअघि महानगर उपप्रमुख सुनिता डंगोलले पुरानो पुल असुरक्षित रहेको यात्रुबाट गुनासो आएकाले त्यस्ता पुलको समस्या यकिन गरी मर्मत गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार गर्न निर्देशन दिएकी थिइन्।  

महानगरले २०७६ सालमा पैदलयात्रुको अत्यधिक चाप भएका आठ स्थानमा नयाँ आकाशे पुल निर्माण गर्ने निर्णय गरेको थियो। तर, हालसम्म चार वटा मात्र निर्माण भएको छ। महानगरले टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडकमा आकाशे पुल निर्माण गर्ने भने पनि लामो समय बितिसक्दा काम अघि बढ्न सकेको छैन।

हाल महानगरभित्र सुन्धारा, वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, रत्नपार्क-बागबजार, भद्रकालीमा पुराना आकाशे पुल संचालनमा छन् भने रत्नपार्कमा एउटा सब–वे संचालनमा छ। त्यसैगरि, स्थानान्तरण गर्न सकिने गरि महानगरले चावहिल चोक, कोटेश्वर, रामशाह पथ र नेपाल विद्युत् प्राधिकरण केन्द्रीय भवन अगाडिका स्थानमा पुल संचालनमा ल्याएको छ।