काठमाडौं। मन्त्रिपरिषद्को बैठकमा राष्ट्र बैंकको नीति र व्यवसायीले भोग्नु परेको समस्याका बारेमा छलफल भएको छ। मंगलबार पुसबाट चार वस्तुको पनि आयात खुलाउन बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर राजनीतिक रुपमा प्रस्तुत भएको संकेत गर्दै प्रधानमन्त्रीको अग्रसरतामा बृहत्त छलफल हुनु पर्ने बताएका थिए।
सहभागी एक मन्त्रीका अनुसार,अर्थमन्त्री शर्माले तरलता अभावसँगै चर्किएको ब्याजदर, चालु पुँजी कर्जाजस्ता विषयले व्यवसायी मर्कामा परेको बताएका थिए।
उद्योगी व्यवसायीले शुक्रबार अर्थमन्त्री शर्मालाई भेटेका थिए भने सोमबार प्रतिपक्षी दलका नेता केपीशर्मा ओली र सत्ता गठबन्धनको प्रमुख साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर समस्याका बारेमा अवगत गराएका थिए।
मंगलबार बिहान नेपाल उद्योग बाणिज्य महासंघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समस्याका बारेमा अवगत गराएको थियो।
त्यसपछि साँझ बसेको मन्त्री परिषद् बैठकमा अर्थमन्त्री शर्माले प्रधानमन्त्रीलाई समस्या समाधान गर्न सर्वपक्षीय बैठक डाक्न भनेका हुन्। यसमा प्रधानमन्त्री सकारात्मक रहेको ती मन्त्रीले जानकारी दिए।
'राष्ट्र बैंकको नीतिले ब्याजदर महँगो भएको छ। यसले उद्योगीव्यवसायी संकटमा परेका छन्। तत्काल समस्या समाधानका लागि सर्वपक्षीय भेला डाक्न आवश्यक देखिएको छ,' अर्थमन्त्री शर्माले भनेका थिए, 'यदि समयमा ब्याजदर नियन्त्रणमा आएन भने धेरै व्यवसायी टाट उल्टिने अवस्था आउँछ। यसले बैंक तथा वित्तीय संस्थालाई समेत प्रभावित बनाउनेछ।'
शर्माको प्रस्तावमा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले पनि सहमति जनाएका थिए। बडुलाई समेत उद्योगीले भेटेका थिए।
अर्थमन्त्री शर्माले प्रधानमन्त्रीसहित निजी क्षेत्रका प्रतिनिधि संगठनका अध्यक्षहरु, अर्थमन्त्रालय, राष्ट्र बैंकसहितको बैठक डाक्न प्रस्ताव गरेका हुन्।
अहिले गभर्नर देश बाहिर छन्। उनी फर्किएपछि छिट्टै बैठक डाकिने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो।


