सुरुङ मार्गबाट सुन्दरीजल आइपुगेको मेलम्चीको पानी काठमाडौंमा कहिलेदेखि वितरण हुन्छ?



बिजमाण्डू
२०७९ मंसिर २१ गते ०८:५० | Dec 7, 2022


सुरुङ मार्गबाट सुन्दरीजल आइपुगेको मेलम्चीको पानी काठमाडौंमा कहिलेदेखि वितरण हुन्छ?


काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ। गोकर्णेश्वर नगरपालिका-१ स्थित सुरुङको अन्तिम विन्दुमा आइपुगेको पानी वाग्मतीमा बगाइएको छ।

Tata
Global Ime

गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहोर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले जानकारी दिए। सुरुको पानी वाग्मतीमा पठाएपछि आजदेखि सुरुङको गेट बन्द गरिएको छ। केही दिन सुरुङ भर्नलाई पानी बन्द गरिने उनले बताए।

वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो। असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल एक हप्तामा आइपुगेको हो। अर्को हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए। 

मंसिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको छ। सुरुङ सफा गरिसकेर जम्मा भएको पानी अर्को हप्ता भने राजधानीका ग्राहकलाई वितरण गरिने छ। पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण संजाल निर्माण गरिरहेको छ। यो संजालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।

वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो। वि सं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रुपमा राजधानी आइपुगेको थियो। वि सं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो। मेलम्चीको मुहानस्थलमा हेडवक्र्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले मंसिर २७ गतेदेखि वितरण गरिने घोषणा गरेका छन्। राजधानीमा खानेपानीको अभाव भएपछि नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह नेतृत्वको टोलीले पनि गत हप्ता मेलम्चीको मुहान पुगेर स्थलगत अध्ययन गरेको थियो। प्रकाशमानले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मेलम्चीको पानी निर्वाध रुपमा वितरण गर्न र आयोजनाको समस्या समाधान गर्न ध्यानाकर्षण गरेका थिए। रासस