डडेलधुराबाट चुनाव लड्न देउवाले खर्चे २६ लाख १२ हजार, अन्य उम्मेदवारले कति खर्चिए?



बिजमाण्डू
२०७९ मंसिर २१ गते ०८:५६ | Dec 7, 2022


डडेलधुराबाट चुनाव लड्न देउवाले खर्चे २६ लाख १२ हजार, अन्य उम्मेदवारले कति खर्चिए?


काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन्।

Tata
Global Ime

निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन्। निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन्।

प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेस गरेका हुन्। उनले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेको सहसचिव महरले जानकारी दिए। प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र संचालनलगायत सात शीर्षकमा उक्त खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाइएको उनले बताए।

यस्तै, नेपाली कांग्रेस (वीपी) का उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख आठ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले एक लाख १६ हजार, विक्रमबहादुर शाहीले दुई लाख दुई हजार एक सय ९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोविन्द खडायतले चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ ३१ लाख, प्रदेशसभा (१) का लागि २१ लाख र प्रदेशसभा (२) का लागि १९ लाख खर्चको सीमा तोकिएको थियो।

एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुई वटा प्रदेशसभामा १२ गरी २० उम्मेदवार रहेका थिए। उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए।