काठमाडौं। सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
बैंकको मंसिर २० गते मंगलबार बसेको संचालक समितितको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले लगानीकर्तालाई यसको १२.५० प्रतिशतले हुन आउने १ अर्ब ५६ करोड बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यस्तै ०.६६ प्रतिशतले हुन आउने ८ करोड २३ लाख बराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि) वितरण गर्ने भएको हो।
हाल बैंकको चुक्ता पुँजी साढे १२ अर्ब रुपैयाँ छ।
लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गरिने छ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न लागेको लाभांश दर अघिल्लो आर्थिक वर्ष अर्थात २०७७/०७८ को तुलनामा सामान्य घटेको हो। बैंकले उक्त समय लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।


