एक महिनामा कच्चा तेलको मूल्य प्रति ब्यारल १८ डलरले घट्यो, आयल निगम थप नाफामा जाने



बिजमाण्डू
२०७९ मंसिर २१ गते ११:५० | Dec 7, 2022


एक महिनामा कच्चा तेलको मूल्य प्रति ब्यारल १८ डलरले घट्यो, आयल निगम थप नाफामा जाने


काठमाडौं। अन्तरराष्ट्रिय बजारमा पछिल्लो एक महिनामा कच्चा तेलको मूल्यमा प्रति ब्यारल १८ डलरसम्म घटेको छ।

Tata
Global Ime

गत नोभेम्बर ७ मा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल ९७ डलरमा पुगेको थियो तर डिसेम्बर ७ मा आइपुग्दा यसको मूल्य घटेर प्रति ब्यारल ७९ डलरमा कारोबार भएको छ। यो अवधिमा ब्रेन्ट क्रुडको मूल्यमा मात्र प्रति ब्यारल १८ डलरले गिरावट आएको छ।

यसैगरी डब्लुटीआईको पनि मूल्य यो अवधिमा १७ डलरले ओरालो लागेको छ। एक महिना अगाडि प्रति ब्यारल ९१ डलरमा रहेको यसको भाउ बुधबार प्रति ब्यारल ७४ डलरमा झरेर कारोबार भइरहेको छ।

आर्थिक मन्दी र  रूसी ऊर्जामा लगाइएको नयाँ प्रतिबन्धले तेलको मूल्य यो वर्षकै न्यून स्तरमा झरेको छ। गत दुई दिनमा तेलको मूल्यमा भएको तीव्र गिरावट उपभोक्ताहरूको लागि प्रायः राम्रो कुरा हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाललाई फाइदा हुन्छ। अन्तर्राष्ट्रिय बजार तेलको मूल्य बढ्दा नेपाल आयल निगम झण्डै ५० अर्ब नोक्सानीमा गएको थियो। मूल्य घट्न थालेपछि निगमको नाफा महिनामै अर्ब नाघ्न थालेको छ।

मंगलबार मात्र कच्चा तेल ३.५ प्रतिशत घटेर ७४.२५ डलर प्रति ब्यारलमा आइपुगेको छ। जुन २३ डिसेम्बर २०२१ पछिको सबैभन्दा कम हो।  युक्रेनमा रुसको आक्रमणको डरको बीचमा मार्चमा प्रति ब्यारल १३० डलरसमम्म पुगेको थियो।

त्यसपछि हालसम्म ४३ प्रतिशतले कच्चा तेलको मूल्य घटेको छ। विश्व बेन्चमार्क ब्रेन्ट क्रुड पनि मंगलबार ४ प्रतिशतले घटेर ७९.५० डलर प्रति ब्यारलमा आइपुगेको छ। पश्चिमा देशले रूसलाई नयाँ प्रतिबन्ध लगाएपछि तेलको बिक्री घटेको छ।