उत्पादक कम्पनीलाई गाडी बिक्रेताको पत्राचार, डेलिभरी दिनसक्ने गाडीको विवरण माग्दै



२०७९ मंसिर २३ गते ११:०५ | Dec 9, 2022


उत्पादक कम्पनीलाई गाडी बिक्रेताको पत्राचार, डेलिभरी दिनसक्ने गाडीको विवरण माग्दै


काठमाडौं। आयात खुलाको निर्णयसँगै विभिन्न गाडी बिक्रेता कम्पनीले नयाँ गाडी नेपाल ल्याउने योजना बनाएका छन्। सरकारले पुस १ गतेदेखि गाडीहरुको एलसी खोल्न दिने निर्णय गरेको छ।

Tata
Global Ime

कम्पनीले गाडी उत्पादकसँग छिटो दिनसक्ने गाडीको एलसी खोल्ने प्रक्रिया सुरु गरेका हुन्। कम्पनीले आयात खुलेको र तत्काल दिनसक्ने गाडीको मोडल उपलब्ध गराउन पत्राचार समेत गरेका छन्। कोभिडपछि चिप अभावका कारण गाडी उत्पादकले माग अनुसार आपूर्ति दिएका छैनन।

व्यवसायीका अनुसार सामान्य रुपमा आपूर्ति राम्रो भएमा गाडीको एलसी खोलेको एक महिनादेखि तीन महिनाको समयमा गाडी नेपाल आइपुग्ने गर्छ। 

महिन्द्रा

सप्लाई चेनमा समस्या आएका कारण महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले सन् २०१९ को अन्त्यदेखि भारतमा बिक्री भइरहेको मोडल समेत नेपाल ल्याउन पाएको थिएन।

कम्पनीले अब भने भारतमा सार्वजनिक भएका विभिन्न नयाँ मोडलहरु थार, एक्सयूभी ७००, बोलेरो नियो र स्कर्पियो एन, फेसलिफ्ट स्कर्पियो क्लासिक जस्ता मोडल नेपाल ल्याउने प्रक्रिया थाल्ने जानकारी दिएको छ। कम्पनीका अनुसार उनीहरुले नेपालको माग र आपूर्ति अनुसार एलसी खोल्ने तयारी गरिने छ।

महिन्द्राले उत्पादन गरेका डिजेल गाडी मात्रै बिक्री हुँदै आएको नेपालमा पहिलो पटक थार, एक्सयूभी ७००, स्कर्पियो एन जस्ता मोडल पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलब्ध हुनेछ।

स्कर्पियो एन मोडल २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा आउने छ। यस्तै एक्सयूभी ७०० मा निकै पावर फुल २.२ लिटर टर्बो डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ। टर्बो पेट्रोल इन्जिनले २०० हर्सपावर र डिजेल इन्जिनले १८५ हर्सपावर प्रदान गर्नेछ। डिजेल इन्जिनको टर्क ४५० एनएम उत्पादन गर्नेछ भने पेट्रोल इन्जिनको ३८० एनएम टर्क उत्पादन गर्छ।

यसैगरी स्कर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन छ। यो इन्जिनले १३६ हर्स पावर र ३०० एनएम पीक टर्क उत्पादन गर्छ। यसमा ६ स्पीड म्यानुअल गियरबक्स रहेको छ भने टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन उपलब्ध रहेको छ।

टाटा

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भारतमा निकै राम्रो व्यापार गरिरहेको पन्च माइक्रो एसयूभी ल्याउने भएको छ। कम्पनीले यो गाडी टाटा पन्च जनवरी तथा फेब्रुअरी अन्तिमसम्ममा नेपाल आउने सक्ने जनाएको छ।

टाटा पन्च माइक्रो एसयूभी डिजाइनमा तयार भएको कार हो। पाँद्ब सिट क्षमताको पन्चमा १.२ लिटर क्षमताको इन्जिन दिइएको छ। ११९९ सीसी क्षमताको पन्च माइलेजको लागि पनि उत्कृष्ट मानिन्छ।

चढ्दा र हेर्दा एसयूभीको अनुभव प्रदान गर्न सक्ने पन्चको इन्जिनले ८४ पीएस पावर प्रदान गर्छ भने प्रतिलिटर १३ देखि १५ किलोमिटरसम्म माइलेज प्रदान गर्छ। तर, एआरएआईले प्रमाणित गरे अनुसार आइडल कन्डिसनमा यसले १८ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ।

सिप्रदीले प्रतिबन्धका कारण नेपाल ल्याउन नसकेको नयाँ मोडलका गाडीहरुमा ह्यारियर अपडेटेड भर्सन र टाटा सफारीको नयाँ भर्सन पनि ल्याउने तयारीमा रहेको छ।

फक्सवागन भर्चुअस

जर्मन ब्रान्ड फक्सवागन गाडीको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले भर्चुअस गाडीलाई नेपाल ल्याउन लागेको छ। यसलाई पनि आयात प्रतिबन्धले गर्दा कम्पनीले नेपाल ल्याउन पाएको थिएन।

यो गाडी जर्मन अटोमेकर फक्सवागन र चेक ब्रान्ड स्कोडाले संयुक्त रुपमा उत्पादन गरेको हो। मर्चुअस मोडुलर एमक्युबी ए-इन प्लेटफर्ममा आधारित स्कोडा-फक्सवागन डुओबाट उत्पादित चौथो मोडेल हो।

इन्टेरियर डिजाइन फक्सवागन टाइगुनसँग मिल्दोजुल्दो रहेको यो गाडी दुई अलग टाइगुन जस्तै डायनामिक र परफर्मेन्स ट्रिम लाइनहरूमा उपलब्ध छन्। डायनामिक लाइनमा १.०-लिटर टीएसआई इन्जिन रहेको छ भने परफर्मेन्स लाइनमा १.५-लिटर टीएसआई इन्जिन द्वारा संचालित हुनेछ।

यसमा गियरबक्स विकल्पहरू भने स्कोडा स्लाभियाको जस्तै रहेको छ।

जीप मेरिडियन

जीपले मे महिनाको अन्तिमतिर एसयुभी सेगमेन्टको गाडी (जीप मेरिडियन) सार्वजनिक गरेको थियो। तर नेपालमा भने आयात प्रतिवन्धले आउन सकेको थिएन।

लाइफ अटोमोबाइलले यो गाडी ल्याउने प्रक्रिया सुरु गर्ने जनाएको छ। यो गाडी जीप कम्पासकै तेस्रो संस्करण हो। गाडी लामो ह्वीलबेसमा उपलब्ध हुनुका साथै फराकिलो र अग्लो पनि रहेको छ। कम्पास मोडेलमा आधारित भएपनि यसलाई बाहिरी स्वरुपमा कम्पासभन्दा फरक डिजाइनमा तयार पारिएको दाबी गरिएको छ। तर यसको इन्टेरियर डिजाइन भने धेरै हदसम्म कम्पाससँग मिल्‍दोजुल्दो छ।

नयाँ खैरो रङमा आउने जीपको यो एसयुभीमा २.०-लिटरको डिजेल इन्जिन रहेको छ। ६-स्पीड म्यानुअल र ९-स्पीड अटोमेटिक गियरबक्सका विकल्पहरू छन्। यो गाडीमा फोर ह्विल ड्राइभको पनि विकल्प पनि ग्राहकले पाउनेछन्।

चेरी टिग्गो ८ प्रो

चेरी टिग्गो ८ प्रो नेपालमा सार्वजनिक भएपनि गाडी भने उपलब्ध छैन। बुकिङ खुला गरेपछि आयात प्रतिवन्ध लागेकोले बिक्री हुन पाएको छैन।यो गाडीको राम्रै बुकिङ छ।

नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स रहेको छ। यसले हाल चेरी टिग्गो ८ प्रो र ७ प्रो जम्मा २ वटा मात्र नेपाल भित्र्याएको छ। त्यो पनि प्रतिबन्ध लाग्नु पहिला खोलिएको एलसी हो।

यो गाडी १.६ लिटर टर्बो चार्ज्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन इन्जिन उपलब्ध छ। जसलाई सुपर पावरफुल चाइना हार्ट इन्जिन भनेर चिनिन्छ। जसको १४५ किलोवाट हर्स पावरका साथ २९० एमएम टर्क जेनेरेट गर्न सक्ने पिक पावर रहेको छ। यसमा गेटर्‍याडको स्पिड डुअल क्लच ट्रान्समिसन उपलब्ध छ। यसमा इन्धन खपत कम गर्नको लागि उत्कृष्ट इन्जिन एक्सेलेरेशन र अल्ट्रा-लो ७ डीसीटी सिस्टम समावेश छ।

यो गाडीमा भएको इन्जिन पावरले ८.९ सेकेन्डमा प्रति घन्टा १०० किलोमिटरको गति तय गर्न सक्छ। यो गाडीले १०० किलोमिटर दुरी पार गर्न ६.८ लिटर पेट्रोल खपत हुन्छ। कम्पनीका अनुसार यो गाडीको माइलेज प्रति लिटर १५ किलोमिटर प्रदान गर्नेछ।

किया क्यारेन्स

यस्तै कियाको नयाँ गाडी किया क्यारेन्स पनि आयात प्रतिबन्धको मारमा परेको थियो। तर कम्पनीले गाडी आयातको प्रक्रिया थाल्ने जनाएको छ।

इन्टरकन्टिनेन्टलले आयात प्रतिवन्ध लाग्नु अघि नै ६ सय गाडीको एलसी खोलेको थियो। त्यो गाडी बिक्री नभएकोले नयाँ गाडी धेरै ल्याउने पक्षमा कम्पनी छैन।

क्यारेन्सको भाउ भारतमा भारु ९ लाख ५९ हजारदेखि १७ लाख ७० लाखसम्म छ। यो मोडलमा १९ वटा भेरियन्ट छन्। १४९७ सीसी क्षमताको इन्जिन पेट्रोल र डिजेल दुबै भेरियन्टमा उपलब्ध छ।

मारुती सुजुकी नयाँ अल्टो

भारतीय कम्पनी मारुतीले ९ वर्षपछि नयाँ अल्टो सार्वजनिक गरिसकेको छ।  नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप कुमार बरालका अनुसार सुजुकीको नयाँ अल्टोको गाडी आयात प्रतिबन्धका कारण आएको थिएन। 

अब आयात प्रक्रिया अगाडि बढ्ने उनले बताए। सुजुकीको नेपालको अधिकृत बिक्रेता सिजी अटोमोबाइल्सले आयात प्रक्रिया अगाडि बढाउनेछ।यो गाडीको भारतमा भारु ३ लाख ३९ हजार तोकिएको छ। यस्तै नयाँ अपडेटेड भिटारा ब्रेजालाई पनि नेपाल ल्याउने तयारी थालिएको उनको भनाइ छ। 

सिट्रोन

युरोपेली कार निर्माता कम्पनी सिट्रोनले भारतमा उत्पादन गरेको इन्ट्री लेभल एसयूभी नेपाल ल्याउने तयारी थालेको छ। सांग्रिला मोटर्सले सी-३ गाडी ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

सिट्रोनले मिडसाइज एसयुभी सी-३  १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन र १.२ लिटर टर्बो इन्जिनमा ल्याएको छ। यो इन्जिनले अधिकतम ८२ हर्सपावर र ११५ एनएम टर्क उत्पादन गर्छ। त्यसैगरी १.२ लिटर टर्बो इन्जिनले ११०हर्षपावर र १९० एनएम टर्क उत्पादन गर्छ। नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ।

यसको क्याविनमा १० इन्चको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई वटा एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता विशेषता छन्।

भारतमा यसको मूल्य ५ लाख ८८ हजार भारुबाट सुरु हुन्छ। यो गाडीको प्रतिस्पर्धी निसान म्याग्नाइट र  रेनो काइगर हो। तर, कम्पनीले यसलाई क्रसओभर डिजाइनमा तयार गरेको छ। भारतमा काइगर र म्याग्रानाइट भन्दा सस्तो छ।