
काठमाडौं। विराटनगरबाट काठमाडौं आउने टिकट काटेका सुदीप अधिकारीको फ्लाइट करिब दुई घण्टा 'डिले' भयो।
बुद्ध एयरको टिकट काटेर समयमा पुगेका उनको फ्लाइट १० बजेको अर्को फ्लाइटसँग मर्ज गरियो। दुई वटा फ्लाइटका यात्रु एउटैमा लैजाँदा पनि जहाज आधा मात्र भरियो।
उनले अघिल्लो दिन टिकट काटेका थिए। सबैभन्दा सस्तो टिकट पनि ५००० रुपैयाँ देखाएको थियो।
'भाडा चाहिँ फिटिक्कै घटेको थिएन तर जहाज आधा खाली थियो,' उनले बिजमाण्डूसँग भने, 'यसअघि काठमाडौंबाट विराटनगर जाँदा पनि मैले यस्तै महसुस गरेको थिएँ।'
त्यसबेला त उनले महँगो टिकट भेटेका थिए। सस्तो टिकट सकिएको थियो। तर जहाज चढ्दा आधा मात्र भरिएको थियो।
'जहाज खाली उडाउने तर भाडाचाहिँ महँगो लिनु भनेको त लुट नै हो,' उनले भने।
पोखराबाट काठमाडौं होस् या काठमाडौंबाट भैरहवा, अहिले सबैतिर उड्डयन व्यवसायीले हवाई टिकटमा कार्टेलिङ गरिरहेका छन्। यो कार्टेलिङमा बुद्ध मात्र होइन यति, श्री एयरलायन्स सबै एकै ठाउँमा छन्। फ्लाइट मर्ज हुने गरेको स्वयं हवाई कम्पनीका प्रतिनिधि समेत स्वीकार्छन्।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले पछिल्लो समय अकुपेन्सी कम हुँदै गएपछि वायुसेवा कम्पनीबीच फ्लाइट मर्ज गरेर चलाउने गरेको स्वीकारे। 'पहिला सरकारले तोकेको न्यूनतम दर भन्दा कममा घाटा खाएर चलाउने गरिएको थियो। तर अहिले फ्लाइट क्यान्सिल हुनुभन्दा हामीले हाम्रो भए बुद्धलाई वा यतीलाई दिने र बुद्ध वा यतीको भए हामीलाई दिने प्रचलन सुरु भएको छ,' मानन्धरले भने, 'प्यासेन्जर नै हुँदैन। खाली उड्नु भन्दा कुनै गन्तब्यबाट आउने विमान खाली आउनु भन्दा उसलाई दिँदा त फूल अकुपेन्सीमा उड्छ नी।'
उनले खाली जहाज उडाएर नोक्सानी हुनु भनेको मुलुकको पनि घाटा भएको दलिल पेश गर्दै भने -'इन्धन पनि हावामा उडाउने र आवर्स पनि गएर घाटा खान त भएन नी।' कम्पनीले यसरी खुलमखुला कार्टेलिङ गरिरहेका छन्।
बजार सिद्धान्तलाई त व्यवसायीले भत्काएका नै छन् सरकारको कानुनलाई पनि उल्लंघन गरिरहेका छन्। तर, व्यवसायीहरु 'आफूले कार्टेलिङ नगरेको, यदि गरेको हुन्थ्यो भने सरकारले कारवाही गरिहाल्थ्यो नि' भनेर ओठे जवाफ दिएर पन्छिने गरेका छन्।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला कम्पनीहरुले कार्टेलिङ नगरेको दाबी गर्दै न्युनतम भाडादरमा उडान गरिरहेको बताउँछन्। उनको तर्कलाई व्यवहारले पुष्टि गर्दैन। महँगो भाडा दर लिँदासमेत जहाज आधाउधि मात्र भरिएको हुन्छ।
जबकी भाडा महँगिनु भनेको जहाजको टिकटको उच्च माग हुनु हो। तर जहाज खाली हुन्छ भाडा मात्र महँगो हुन्छ।
'यो कार्टेलिङ होइन। कार्टेलिङ गर्यो भने त कालाबजारी ऐन अन्तर्गत कारवाहीमा परिहालिन्छ नि,' उनले भने, 'विदेशमा जस्तै सरकारले एउटै भाडादर लागू गरिदिए सजिलो हुने थियो।'
हवाई कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा भएका कारण सस्तो भाडादर कार्यान्वयन नगरेको उनले बताए। इन्धनको मूल्य नघट्दा भाडादर महँगो देखिएको उनको भनाइ छ।
इन्धनको भाडा सस्तो हुँदा काठमाडौं-विराटनगर उडान २८ सय रुपैयाँमा हुन्थ्यो। अहिले कम्तिमा ५ हजार रुपैयाँ छ। उनको तर्क छिमेकी भारतकै आन्तरिक उडाउनसँग तुलना गर्दासमेत मिल्दैन। दरभंगाबाट बेङ्गलुरु उडान गर्न २ घण्टा ४० मिनेट समय लाग्छ। तर त्यहाँको भाडा दर ७ हजार (नेपाली रुपैयाँ) मात्र पर्छ। काठमाडौं-विराटनगरको दूरी ३५ मिनेटमा भने सबै जहाज कम्पनीले ५ हजार रुपैयाँ भाडा दर ठटाउने गरेका छन्।
महँगो हवाई इन्धनका कारण न्युनतम भाडादर एउटै तोक्ने सहमति भएको बुद्ध एयरका बिक्री तथा बजार निर्देशक रुपेश जोशी बताउँछन्। उनको भनाइले हवाइ उड्डयन कम्पनीहरु बीचको कार्टेलिङ पुष्टि हुन्छ।
'प्रतिस्पर्धा नभएको त होइन। भद्रगोल नहोस् भनेर न्युनतम भाडादरमा सहमति भएको हो,' उनले भने, 'न्युनतम भाडादर भन्दा कम लागु गर्दा नोक्सानीमा गएकाले प्रमोसनल फेयर कार्यान्वयन नगरिएको हो।'
सरकार र नियामक कमजोर बन्दा यात्रु भने खुल्लमखुल्ला ठगिएका छन्। जबकी व्यवसायीले भएकै कानुन कार्यान्वयन गर्ने हो भने एक पटकमा ५ लाख रुपैयाँसम्म जरिवानाको कारवाही गर्न सकिने व्यवस्था छ।
बलियो कानुनको कमजोर कार्यान्वयन। सरकारविरुद्धको अपराध कसरी गरिरहेका छन् हवाई उड्डयन व्यवसायी? अर्को स्टोरीमा