सेयर बजार १९०० अंकभन्दा तल आयो: फराकिलो अन्तरले घट्दा कारोबार रकम पनि झर्‍यो



२०७९ मंसिर २५ गते १५:१० | Dec 11, 2022


सेयर बजार १९०० अंकभन्दा तल आयो: फराकिलो अन्तरले घट्दा कारोबार रकम पनि झर्‍यो


काठमाडौं। लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदै गएपछि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ। बिक्रीकर्ता हाबी साताको पहिलो कारोबार दिन बजार १९०० अंक तल आएको हो।

Tata
Global Ime

आइतबार बजार करिब ३२ अंक झरेर १८८५ को विन्दुमा आइपुगेको छ। बजार फराकिलो अन्तरले घट्दा कारोबारीहरु हच्किएका छन्।

अन्योलतासँगैको त्रासले 'के गर्ने- के गर्ने' हुँदा कारोबार रकममा उल्लेख्य गिरावट आएको छ। दिनभरीमा एक अर्ब १० करोडको किनबेच भएको छ।

प्रणालीमा तरलता सुधार भए पनि ब्याज दर घटाउनेतर्फ न सरकार न त राष्ट्र बैंक नै गम्भीर देखिएका छन्। बजारले ब्याज दरलाई बढ्ने आधारका रुपमा लिएको छ। त्यही नहुँदा सूचक निरन्तर ओरालो लागेको हो।

यहीबीच मुद्रास्फीति दोहोरो अंकमा पुग्ने प्रक्षेपणले ब्याज दर थप माथि जाने विश्लेषणलाई बल दिएको छ। ८ प्रतिशतमाथि उक्लिसकेको मूल्यवृद्धि दर (मुद्रास्फीति) वर्ष दिनभित्र १२ प्रतिशतमाथि जाने राष्ट्र बैंकको प्रक्षेपणपछि सेयर बजारमा असर देखिन थालेको छ।

मूल्यवृद्धिभन्दा माथि ब्याजदर हुनुपर्छ भन्दै राष्ट्र बैंकले स्वयम् मुद्रा बजारमा हस्तक्षेप गरिरहेको छ।

ब्याजदर करिडोर अन्तर्गतको दरहरुलाई वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७.० प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशत कायम गरेको हो। अनिवार्य नगद अनुपातलाई ४ प्रतिशत पुर्‍याएको छ। 

वैधानिक तरलता अनुपातलाई वृद्धि गरी वाणिज्य बैंकहरुले १२ प्रतिशत पुर्‍याएको छ। विकास बैंक र वित्त कम्पनीहरुले १० प्रतिशत पुर्‍याउनु पर्ने व्यवस्था गरेको हो।  

यसले गर्दा बैंकिङ प्रणाली तरलताको उपलब्धितामा चाप पर्छ। तरलता असहज हुँदा बैंकहरुले ब्याजदर वृद्धि गर्दै लगेका हुन्। तर निर्वाचनलगत्तै बैंकहरुको निक्षेपमा सुधार आएको छ। अर्थतन्त्र चलायमान बनाएर बैंकिङ प्रणालीमा पैसा फर्किने क्रममा छ।

सीडी रेसियो कर्जा दिने गरी सहज बन्दै भएको छ। बैंकहरुले राष्ट्र बैंकबामट उपयोग गर्दै आएको स्थायी तलरता लगायतका सुविधा लिन कम गरेका हुन्। तर बढ्दै गएको तरलता र सहज हुँदै गएको बाह्य अवस्थाका बाबजुद सेयर बजारको गिरावटमा ब्रेक नलाग्दा लगानीकर्ताको संशय बढ्दो छ। 

राष्ट्र बैंकले बैंकहरुको स्प्रेड दरलाई पनि घटाएर ब्याज नबढ्ने योजना बनाएको छ। यसले बैंकहरुको नाफा घट्छ तर ब्याजदर तत्कालै झर्दैन। लगानीकर्ताले राष्ट्र बैंक प्रति पूर्ण रूपमा विश्वास नगर्दा पनि सेयर बजार दिनहुँ रातो हुन थालेको हो।

यसै दौरान सरकारले पुस १ गतेबाट प्रतिबन्धित वस्तुको आयात खुलाउने निर्णय गरिसकेको छ। यसले पुन: विदेशी मुद्राको सञ्चितिमा चाप परेर पुरानै अवस्थामा पुर्‍याउँछ कि भन्ने डर लगानीकर्तामा देखिएको छ।

राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था यथावत राखे पनि विप्रेषण घट्नेबित्तिकै विदेशी मुद्राको सञ्चितिमा ह्‍वात्तै घट्छ। चाडपर्वका कारण असार ताका विप्रेषण बढेको थियो। तर विप्रेषण भित्रिने ट्रेण्डको उतारचढावले बाह्य क्षेत्रमा दबाब उत्पन्न हुन्छ।