दाङको टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु, एनएसीको जहाजमा गरियो इन्धन रिफ्युल



२०७९ मंसिर २६ गते ०९:१८ | Dec 12, 2022


तुलसीपुर। दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’ सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतवार ४ सय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदीशचन्द्र यादवले बताए।

Tata
Global Ime

‘हामीले पहिलोपटक  विमानमा इन्धन रिफ्युल गर्‍यौं,’ उनले भने, ‘अब नियमित रिफ्युलको कार्य हुनेछ।’

शनिवारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतवार रिफ्युल भएको हो। डिपो निर्माण नहुँदा यसअघि काठमाडौंबाट इन्धन बोकेर आउनुपर्थ्यो। सिटमा राखेर इन्धन राख्नुपर्ने अवस्था रहे पनि अब भने त्यस्तो समस्या नहुने वायुसेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए।

‘यसअघि विमानको सिटमै राखेर इन्धन काठमाडौंबाटै ल्याउनुपर्ने हुन्थ्यो,’ उनले भने, ‘अब भने त्यो समस्या हट्नेछ।’ इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुन सक्ने अपेक्षा गरिएको छ।

टरिगाउँस्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता छ भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ। नियमित विमानसेवा सञ्चालन भएमा पनि तीन महिनासम्म इन्धन पुर्‍याउन सकिने इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले बताए।

इन्धन तत्काल आवश्यक परेमा तत्काल नेपालगञ्जबाट ल्याउन सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउनेसमेत प्रमुख श्रेष्ठले बताए।

‘हामी जतिबेला चाहिन्छ, त्यतिबेलै ल्याउँछौं,’ उनले भने, ‘कहिल्यै नेपाली सेनाको हेलिकोप्टर आकस्मिकरूपमा पनि आउन सक्छ, त्यस्तो बेला पनि हामीले आपूर्ति गर्छौं।’

६ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो। आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेशस्थित भैरहवा कार्यालयबाट दुई जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो।

यो चौथो प्रयासपछि मात्रै रिफ्युल भएको हो। यसअघि विभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन। डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो।

भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आइतवार रिफ्युल कार्य गरिएको हो। टरिगाउँमा नेपाल वायुसेवा निगमको १९ सिटे ट्‍वीनअटर  जहाज सञ्चालनमा छ।

एयरपोर्टको धावनमार्ग ७ सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन्। जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन्। दाङ-काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८ सय १० रुपैयाँ छन्, भने अधिकतम १२ हजार ६ सय ६५ छ।

काठमाडौंभन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैयाँ बढी हुन्छ। काठमाडौंमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुईसय रुपैयाँ बढी लाग्ने गर्छ। रासस