
काठमाडौं। वाणिज्य बैंकहरुले पुस १ गतेबाट लागू हुने ब्याज दर नचलाउने निर्णय गरेका छन्। बैंकर्स संघले मंसिरकै ब्याज दरलाई पुसमा पनि निरन्तरता दिने मंगलबार निर्णय गरेको हो।
मंसिरमा साधारण मुद्दतीको ब्याज दर १२.१३३ प्रतिशत छ। साधारण बचतको उच्चतम ब्याज दर ९.१३३ प्रतिशत छ।
अब पुसमा पनि यही ब्याजले निरन्तरता पाउने छ। मंसिरमा विकास बैंक र फाइनान्स कम्पनीले सांकेतिक रुपमा भए पनि ब्याज घटाएका थिए। त्यही कारण वाणिज्य बैंकहरुले पुसमा ब्याज घटाउने अनुमान गरिएको थियो।
ब्याज दर महँगो भएको भन्दै अहिले व्यापारीहरु आन्दोलित छन्।
पुसका लागि विकास बैंक र फाइनान्स कम्पनीहरुले वाणिज्य बैंकको निर्णय कुरेर बसेका थिए। वाणिज्य बैंकहरुको यथावत भएपछि विकास बैंक र फाइनान्सले पनि यथावत राख्ने भएका छन्। उनीहरुको औपचारिक निर्णय भने बुधबार हुने छ।