काठमाडौं। वाणिज्य बैंकहरुले ब्याजदर नघटाउने निर्णय गरेपछि त्यसको नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। नेपाल बैकर संघको निर्णयले पुस १ गतेबाट लागु हुने गरि मंसिरकै ब्याजदरलाइ निरन्तरता दिने घोषणा गरेसँगै मंगलबार बजार घटेको हो।
विकास बैंकहरुले मंसिर महिनाबाटै ब्याजदर घटाउन सुरु गरेकाले वाणिज्य बैंकहरुले पनि पुसबाट ब्याजदर घटाउने अनुमान गरिएको थियो। तर लगानीकर्ता तथा जानकारहरुको अनुमानविपरीत बैंकर संघको निर्णय आइदिँदा बजार खस्किएको हो।
मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेर १८९९.७० बिन्दुमा ओर्लिएको छ। यस्तै सेन्सेटिभ पनि १.६३ अंकले घटेको छ।
परिसूचकसँगै आज कारोबारमा भारी गिरावट आएको छ। दिनभर २४८ कम्पनीको २० लाख कित्ता सेयर किनबेच हुँदा ७७ करोड बराबरको सेयर कारोबार भएको छ। आज भएको सेयर कारोबार पछिल्लो एक महिना यताकै कम हो। सोमबार १ अर्ब ३६ करोड बढीको कारोबार भएको थियो।
कारोबारका अधारमा लाभांश घोषणा गरेको नबिल बैंक अग्र स्थानमा छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको ७ करोड माथिको सेयर किनबेच भएको हो। यस्तै नेपाल दूरसंचारको पनि ६ करोड माथिको सेयर कारोबार भएको हो।
यस्तै बजार घटे पनि सीवाइसी नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सेयर मूल्य प्रतिकित्ता २०५ (१०%)रुपैयाँ सम्म बढेको हो। मर्जरको क्रममा रहेको यो कम्पनीको कारोबार आइतबारबाट फुकुवा भएको हो।
जानकारहरुका अनुसार यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई राम्रो लाभांश दिने हल्ला छ। तसर्थ यस लघुवित्तमा खरिदकर्ताको आकर्षण देखिएको हो। २०१४ रुपैयाँमा खुलेको यस लघुवित्तको सेयर मूल्य प्रति कित्ता २२६० रुपैयाँमा बन्द भएको हो। जुन हालसम्मकै उच्च हो।


