‘मेरो गाडी हो, छोड’ भन्दै राजस्व अनुसन्धान विभाग पुग्ने हेम चौलागाई को हुन् ?



२०७९ मंसिर २७ गते १५:३७ | Dec 13, 2022


‘मेरो गाडी हो, छोड’ भन्दै राजस्व अनुसन्धान विभाग पुग्ने हेम चौलागाई को हुन् ?


काठमाडौं। रसुवा भन्सार कार्यालयबाट जाँचपास भएको दुई वटा ट्रक केही दिनअघि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लियो। सोही ट्रक छुटाउन एक जना हरिहर भवनमा रहेको विभागको कार्यालय पुगे।

Tata
Global Ime

राजस्व चुहावट गरेको देखिएपछि विभागका कर्मचारीले नियन्त्रणमा लिएको ट्रक छुटाउन पुगेका ती व्यक्ति रवाफसहित प्रस्तुत भएका थिए।  कर्मचारीलाई धम्की दिँदै भनेका थिए-'मेरो गाडी हो। किन नियन्त्रणमा लिएको ?' विभागका कर्मचारी उनको धम्कीबाट टसमस भएनन्। र, सोधे-'यो गाडी तपाईँको भए प्रमाण देखाउनुहोस्।' त्यसपछि भने उनी हच्किए।

त्यसपछि विभागले सामानका धनी र ड्राइभरको नाममा पक्राउ पुर्जी जारी गर्‍यो। योसँगैै दुवै कार्यालयमा उपस्थित भएपछि नियन्त्रणमा लिइयो। विभागले धम्की दिनेे व्यक्तिको नाममा पनि पक्राउ पुर्जी जारी गर्‍यो। पक्राउ पुर्जी जारी भएपछि ती व्यक्ति मोबाइल अफ गरेर चार दिनसम्म बेपत्ता भए।

चार दिनको अवधिमा उनले आफ्ना सबै शक्ति प्रयोग गरेर गाडी, सवारीधनी र ड्राइभर निकाल्न प्रयास गरे। सत्ता गठबन्धनको प्रमुख साझेदार माओवादी केन्द्रका उच्च नेतृत्वबाटै फोन गराएर आफ्नो शक्ति प्रदर्शन गर्ने व्यक्ति को थिए ? उनी हुन् काभ्रेका हेम चौलागाई।

राजनीतिक शक्तिको प्रयोग गर्दै चौलागाईले आफूसँग 'पंगा नलिन' र 'आफू निकै शक्तिशाली भएको' सूचना विभागसम्म पुर्‍याएको प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताए। सबै शक्ति प्रयोग गरेपछि मात्रै चौलागाई विभागको सम्पर्कमा पुगेका थिए। चौलागाईसँग विभागका कर्मचारीले तीन घण्टासम्म बयान लिएका थिए। बयानका क्रममा भने उनले गाडी आफ्नो नरहेको र निर्दोष मान्छेलाई फसाउन खोजेकाले छुटाउन मात्रै पहल गरेको जवाफ दिएका थिए। त्यसपछि विभागले चौलागाईको बारेमा मिहिन ढंगले अनुसन्धान गरेको छ। 

को हुन् चौलागाई ?

चौलागाई काभ्रे जिल्लाका बासिन्दा हुन्। उनी माओवादी केन्द्र निकट रहेर राजनीतिसमेत गर्छन्। १० वर्षदेखि चौलागाईले भन्सार जाँचपासमा मध्यस्थकर्ताको काम गर्दै आएका छन्।

चौलागाईको सोझो संलग्नता कहीँ पनि देखिँदैन। तर भन्सार जाँचपासको ठूला ठेक्का उनीमार्फत नै हुन्छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनी आफ्नो अनुकूलको भन्सार अधिकारी विभिन्न भन्सार कार्यालयमा सरुवा गराउनसक्ने ल्याकत राख्छन्। अहिले राम्रा भन्सार कार्यालयमा उनकै पहलमा भन्सार अधिकारीको सरुवा भएको छ।

अझ माओवादीकै अर्थमन्त्री भएकाले अहिले चौलागाईको खट्नपट्न चल्ने गरेको छ। पछिल्लो एक दशकदेखि सक्रिय रहेका चौलागाईले ठूलै साम्राज्य खडा गरिसकेका छन्। नेपाल हिमालय सीमापार व्यवसायी संघसँग आबद्ध एक व्यवसायीका अनुसार १० वर्षको अवधिमा चौलागाईले ठूलै आर्थिक हैसियत बनाएका छन्। 

प्रमाण खोजिँदै
रसुवाबाट समातिएको २ ट्रकमध्ये एउटा खाली भेटिएको छ। यद्यपि त्यसमा ल्याएको कपडाको धनीले भने गोदाममा खन्याइ खाली गरेर ट्रक फर्केको अवस्थामा राजस्व अनुसन्धानको टोलीको नियन्त्रणमा परेको बयान दिएका छन्।

विभागले भने सूचना पाएपछि वेत्रावतीमै सामान छाडेर फर्किएको जिकिर गरेको छ। विभागले हाल सीसीटीभी फुटेज, भेहिकल कन्साइनमेन्ट (भीसीटीएस) जाँच गरिरहेको छ। 

विभागले चालक र सामानका धनीलाई भने एक हप्ता नियन्त्रणमा लिएर छाडिसकेको छ।