
काठमाडौं। नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले सरकार र राष्ट्र बैंकविरुद्ध चितवन र हेटौंडामा पनि विरोध प्रदर्शन गरेको छ। नाडाका संस्थागत सदस्य वाग्मती प्रदेश अन्तर्गतका चितवन अटोमोबाइल्स एशोसिएसन र हेटौंडा अटोमोबाइल्स एशोसिएसनले पनि शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन्।
नाडाले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत ती एशोसिएसनहरुले विरोध प्रदर्शन गरेको जनाएको छ। व्यवसायीहरुले सरकारका विरुद्ध नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर नारायणगढको लायन्स चोक र हेटौंडाको बुद्धचोकमा धर्ना बसेका हुन्।
सरकारको पछिल्लो नीतिले अटोमोबाइल्स व्यवसायीहरु नै धरासायी हुन पुगेको उनीहरुको आरोप छ। धर्ना कार्यक्रममा व्यवसायीहरुले चालु पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण गर्नुपर्ने माग राखेका छन्।
साथै ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने, अटो लोन फाइनान्सिङ सुविधामा लागेको ५० प्रतिशतको क्याप हटाउनु पर्ने, बैंकको ब्याजदर नियन्त्रण हुनु पर्ने लगायतका मागहरु राखेका थिए।
धर्ना कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र मकवानपुर उद्योग वाणिज्य संघको समेत ऐक्यबद्धता रहेको थियो।