कोरोना महामारीका बेला विराटनगरबाट सुरु स्वास्थ्य सेवाको स्टार्टअपले क्षेत्र विस्तार गर्दै



२०७९ मंसिर २७ गते १७:५१ | Dec 13, 2022


कोरोना महामारीका बेला विराटनगरबाट सुरु स्वास्थ्य सेवाको स्टार्टअपले क्षेत्र विस्तार गर्दै


काठमाडौं। अस्पतालका ओपीडीहरुमा जँचाउन पुग्दाको लाइन सम्झनु हुन्छ? पहिल्यै पुर्जी बनाइएन भने कुनै अस्पताल यस्ता छैनन् जहाँ पालो आउने कुर्न नपरोस्। जता गयो पर्खनै पर्छ। तर अब समाधानको बाटो सहज हुँदैछ। मोबाइल एप्स डाउनलोड गरेर डाक्टरको एपोइन्टमेन्ट लिनुभयो भने अनुकूल समयमा गएर जाँचका सुविधा लिन सकिन्छ।

Tata
Global Ime

यो सेवा विस्तारै प्रयोगमा आएका छन्। मोइबाइल एप्सबाट एपोइन्टमेन्ट, मोबाइल वालेटबाटै आवश्यक शुल्कको भुक्तानीले जनजीवन सहज बनाउँदै छ। अस्पतालहरुले एप्स सञ्चालनमा ल्याएका छन्। योबारे नबुझेकाहरुलाई स्वास्थ्य सेवामा पहुँच सहज बनाउने मध्येको एउटा हो क्युरा हेल्थ एप्स। 

विराटनगरका आयुष भगतको अगुवाइमा यो सेवा सञ्चालनमा आएको दुई वर्ष भयो। सुरुमा विराटनगरमा मात्रै रहेको क्युराको सेवा विस्तार भएर काठमाडौं आइपुगेको छ। यसमा थुप्रै अस्पताल, चिकित्सक, प्रयोगशालाहरु जोडिएका छन्। उपचार सेवा सजिलोसँग खोज्नेहरुले छनोट गरेर सुविधा पाउन सक्छन्।

सफ्टवेयर इन्जिनियरिङ अध्ययन गर्दै गरेका आयुषले आफ्नो प्राविधिक अध्ययनको प्रमुख विषयमा प्रयोग गर्दै टेलि हेल्थमा आधारित स्टार्टअप क्युरा हेल्थको विकास गरेका हुन्। क्युरा हेल्थको माध्यमबाट बिरामीहरूले घरै बसेर विभिन्न अस्पतालहरुका डाक्टरसँग अपोइन्टमेन्टहरू बुक गर्न सक्छन्। नि:शुल्क भिडियो तथा अडियो कन्सलटिङको सुविधा पनि लिन सक्छन्। 

यो सेवा हठात् सञ्चालनमा आएको होइन। क्युराको अवधारणा ल्याएपछि आयुषले साथीहरुसँग सल्लाह गरे। यो नौलो योजनामा उनीसँग स्कुले साथी पियुष अग्रवाल, एसियन थाई फुडकी निर्देशक जयश्री जाजु, बिराट मेडिकल कलेजका उपाध्यक्ष डेनिस कार्की र एमबीबीएस पढ्दै गरेका रजत अग्रवाल पनि जोडिए।

सुरुमा उनीहरुले मोरङ व्यापार संघ र उद्योग संगठनसँगको  सहकार्यमा चिकित्सकहरुसँग नि:शुल्क भिडियो तथा अडियो कन्सल्टिङको सुविधाबाट सुरु गरे। कोरोना महामारीले स्वास्थ्य सेवामा पहुँच कठिन बनाएको बेला क्युरा हेल्थको यो सेवाले विराटनगरवासीलाई केही राहत भएको आयुष बताउँछन्।

‘हामीले करिब ६ महिना लगाएर क्युरा हेल्थको पुरा सिस्टम र एप विकास गर्‍यौं। टिममा हामी १० जना जति आवबद्ध थियौं,’ उनी भन्छन् 'अहिले यसले एउटा सञ्जाल तयार गरेको छ। अब सेवा विराटनगरबाट विस्तार भएर सेवा इटहरी र काठमाडौंसम्म छ।'

प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवालाई व्यवस्थित तथा सहज बनाउने लक्ष्यका साथ अघि बढेका आयुष भन्छन्, ‘हामीले क्युरा हेल्थ सुरु गरेको केही महिनापछि नै यसमा ल्याब टेस्टको सेवा पनि सञ्चालनमा आयो। यसले दिने सेवामा गुणस्तर छ।' स्वास्थ्य सेवामा गुणस्तरले धेरै ठूलो महत्त्व राख्ने उनी बताउँछन्।

'आजभोलि हरेक गल्ली-गल्ली जस्तोमा मेडिकल ल्याबहरू खुलेका छन्। गुणस्तर र पारदर्शितामा प्रश्न उठाउने धेरै ठाउँहरू छन्,’ उनले भने, 'क्युरामा त्यस्तो प्रश्न गर्नु पर्दैन।' गुणस्तरको माथिको समस्यालाई सुल्झाउन आयुष र उनको टिमले देशभरका राम्रा ल्याबहरूसँग सहकार्य गरेर ल्याब परीक्षणको प्याकेजहरू पनि ल्याएका छन्। 

घरै बसेर लिनुस् डाक्टरसँग अपोइन्टमेन्ट

क्युरा हेल्थ एपमार्फत बिरामीले एपमा भएका विभिन्न २० प्रयोगशालाहरूको सेवा शुल्क र छुटहरू तुलना गरेर आफ्ना लागि उपयुक्त प्रयोगशाला छनोट गर्न सक्ने आयुष बताउँछन्। ‘बिरामीहरूले रोजेको स्थान, मिति र समयमा विभिन्न प्रकारका जाँचको नमूना संकलन गर्न हुने गर्छ। हामीले नमूना संकलनकर्ताहरू बिरामीहरूले तोकेकै ठाउँमा पठाउने गर्छौँ। उनीहरूले परीक्षणहरूको रिपोर्टहरू पनि एपमार्फत र इमेलबाट सजिलै पाउन सक्छन्,’ उनी भन्छन्।

यस एपमा बिरामीको परीक्षण रिपोर्ट, पेसेन्ट हिस्ट्री तथा अन्य स्वास्थ्य रिपोर्टहरू सबै क्लाउडमा सुरक्षित हुन्छ। सन् २०२० को नोभेम्बरमा सुरु भएको स्वास्थ्य सेवाको यो स्टार्टअप कम्पनीले अहिलेसम्म २० हजारभन्दा बढी प्रयोगकर्ताहरुलाई सेवा दिइसकेको पियुष दाबी गर्छन्। 'मोबाइलमा एप्समार्फत यो मुकामसँग आइपुग्न क्युरा हेल्थलाई दुई वर्ष लागेको छ,' उनले भने। 

आफ्नै भोगाइ प्रेरित स्टार्टअप 

विराटनगरका दिनेश भगत मधुमेहका बिरामी हुन्। ‌एक दिन पनि औषधि टुटाउनै नमिल्ने। औषधि सबै सीमापारिबाट नै आउने गर्थ्यो। तर, सन् २०२० तिर कोरोना महामारीले जनजीवन ठप्प बनायो। महामारीलाई नियन्त्रण गर्न सरकारले देशव्यापी लकडाउन गर्‍यो। साथै नाका पनि बन्द भयो। भगतले नियमित लिने ‌औषधि पनि अभाव भयो।

छोरा आयुषले घर नजिकका सबै मेडिकलहरूतिर बुझे। कतै औषधि पाएनन्। उनले काठमाडौंबाट औषधि मगाउन कोसिस पनि गरे। तर, निराश मात्रै भए। आयुष त्यतिबेला सफ्टवेयर इन्जिनियरिङ स्नातक तेस्रो वर्षमा अध्ययनरत थिए। 

आफू र परिवारले भोग्नु परेको हैरानीको समाधान खोज्ने क्रममा उनी आफ्नो पढाइको विषयतिर फर्किए। प्रविधिलाई माध्यम बनाएर उनले घरैबाट बिरामीलाई चिकित्सकसँग जोड्ने संमाधान 'क्युरा हेल्थ' निकाले। 

क्युरा हेल्थले अहिले ओपिडी सेवा बुक गर्ने, ल्याब टेस्ट र चिकित्सकसँग नि:शुल्क भिडियो कन्सल्टिङ गरी तीन सेवा प्रदान गर्दै आएको छ। अहिलेसम्म यसबाट १० हजारभन्दा बढी बुकिङ तथा अपोइन्टमेन्टहरू भएको छ। साथै ३ सय डाक्टर, ५० अस्पताल तथा क्लिनिक र २० ल्याबहरू जोडिएका छन्।

स्वास्थ्य सेवामा वान स्टप सलुसन बन्ने लक्ष्य

विराटनगरबाट सुरु भएको क्युरा हेल्थले आफ्नो सेवा अहिले काठमाडौं, इटहरी र पोखरासम्म फैलाइसकेको पियुष बताउँछन्। तर यो यात्रा त्यति सहज नभएको आयुषको अनुभव छ।

उनी सुनाउँछन्, ‘क्युरा हेल्थ डेभलप गर्दै गर्दा हामीले धेरै कठिनाइहरू सामना गर्‍यौं र कति त अझै पनि गर्दैछौं। सुरुमा त हामीलाई अस्पतालहरूको डाक्टरहरूको तथा बिरामीहरू विश्वास जित्न नै मुस्किल भयो।’

उनीहरू दिनकैजसो विभिन्न अस्पतालहरू, डाक्टरहरू कहाँ आफ्नो अवधारणा बुझाउन धाउने गर्थे। यसकै लागि विभिन्न क्याम्पेनहरू पनि गरेको उनीहरू सुनाउँछन्। सबैजसोबाट सुरुवाती प्रतिक्रिया हिचकिचाहट भए पनि विस्तारै यसको महत्त्व र आवश्यकता बुझेर जोडिनेहरु बढेको आयुष बताउँछन्।

‘हामीले गुणस्तरमा कहिले कम्प्रमाइज गरेका छैनौं। किफायती शुल्कमा विना झन्झटको गुणस्तरीय सेवा प्रदान गर्दै आएकाले आज हाम्रो एपलाई २० हजारभन्दा बढी प्रयोगकर्ता हुनुहुन्छ,’ उनले भने।

पियुष थप्छन्, ‘क्युरा हेल्थमा धेरै जसो प्रयोगकर्ताहरू दोहोरिएका छन्। उहाँहरूलाई हाम्रो सेवा मन परेर आफ्नो साथीभाई तथा घरपरिवारलाई हाम्रो सेवा प्रयोग गर्न सुझाउने पनि गर्नु भएको हामीले धेरै पाएका छौं। हामी यसरी नै अघि बढिरहेका छौं।’

करिब दुई करोडको लगानीमा विकास भएको क्युरा हेल्थले अहिले लगभग २५ लाखको त्रैमासिक आम्दानी गर्दै आएको उनी बताउँछन्। 

आगामी दिनमा क्युरा हेल्थलाई सबै खालको स्वास्थ्य आवश्यकताको लागि वान स्टप सलुसन बनाउने लक्ष्यका साथ आयुष तथा उनको टिम लागि परेको छ। उनी भन्छन्,’हामी छिट्टै नै औषधि डेलिभरीको सेवा पनि संचालनमा ल्याउन तयारीमा छौं।’