
काठमाडौं। टेलिफोन, इन्टरनेट, केबल टीभी सेवा प्रदायकहरुलाई पुस ७ गतेभित्र पोल भाडा सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणले पुन: ताकेता गरेको छ।
प्राधिकरणले मंसिर ६ गते सूचना जारी गर्दै आफ्नो विद्युतीय संरचना उपयोग गरेर सेवा दिइरहेका संस्थाहरुलाई बाँकी बक्यौता रहेको भाडा रकम र सम्झौता गर्न आउन पत्राचार गरेको थियो। तर, उनीहरु अहिलेसम्म पनि नआएको भन्दै बुधबार फेरि सूचना निकालेको छ।
यसपटक प्राधिकरणले पुस ७ गतेभित्र सम्झौता नगर्ने, नवीकरण नगर्ने र बाँकी बक्यौता भाडा रकम भुक्तानी नगर्ने कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले आफ्ना पूर्वाधारको सह-प्रयोग गर्ने कम्पनीहरुलाई पोल भाडा सम्झौता गर्न र बाँकी रहेको बक्यौता भुक्तानी गर्न पटक-पटक ताकेता गर्दै आएको छ। तर, प्राधिकरणले तोकेको भाडाप्रति असन्तुष्ट हुँदै उनीहरुले सम्झौता नवीकरण गर्न र बक्यौता बुझाउन आनाकानी गर्दै आएका छन्।