नेप्सेले फरेक्स एक्सचेन्स सञ्चालन गर्ने, राष्ट्र बैंकले पनि दियो ग्रीन सिग्नल



२०७९ मंसिर २८ गते ११:२० | Dec 14, 2022


नेप्सेले फरेक्स एक्सचेन्स सञ्चालन गर्ने, राष्ट्र बैंकले पनि दियो ग्रीन सिग्नल


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले फरेक्स एक्सचेन्स प्ल्याटफर्म (विदेशी विनिमय कारोबार) सञ्चालन गर्ने भएको छ। यसका लागि आन्तरिक गृहकार्य सुरु गरेको छ। 

Tata
Global Ime

नेप्से र राष्ट्र बैंकको सहकार्यमा करेन्सी ट्रेडिङ प्ल्याटफर्म निर्माण तथा सञ्चालन हुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बिजमाण्डूसँग बताए। 

उनका अनुसार हाल फरेक्स एक्सचेन्स सञ्चालनका लागि आवश्यक आउटलाइन मात्र तयार गरिएको छ। लिगल फ्रेमवर्कबारे अझै छलफल नभइसकेको उनले जिकिर गरे।

'फरेक्स एक्सचेन्सलाई छिट्टै निष्कर्षमा पुर्‍याउन हामी लागिपरेका छौं,' सीइओ कार्कीले भने, 'राष्ट्र बैंकको भूमिका यसका लागि प्रमुख हुने हुँदा आन्तरिक समन्वयमा जुटेका हौ। पछिल्लो वार्ताप्रति वहाँहरु पोजिटिभ नै हुनुहुन्छ।'

यसबारे छलफल गर्न नेप्सेको प्रतिनिधि टोली मंगलबार राष्ट्र बैंक पुगेको थियो। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलसँग नेप्सेका प्रतिनिधिहरुले भेटेका थिए। 

लगत्तै अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको नेप्सेको छुट्टै छलफल भएको थियो। नेप्सेका प्रतिनिधिले प्राविधिक र कानुनी परामर्श लिएका हुन्। दुवैको समझदारीमा कसरी सहकार्य गरी फरेक्स एक्सचेन्स प्लेटफर्मलाई कार्यान्वयनमा ल्याउन सकिने बारे छलफल भएको थियो।

राष्ट्र बैंकबाट सकारात्मक प्रतिक्रिया आएको सीइओ कार्की बताउँछन्। उनका अनुसार फरेक्स एक्सचेन्सका लागि नेप्सेले राष्ट्र बैंकको सहकार्यका कार्यशाला पुसको तेस्रो साता गरिनेछ। कार्यशालामा आवश्यक पूर्वाधार, प्रविधि र कानुन सम्बन्धि वृहत् प्रस्तुति हुनेछ।

करेन्सी ट्रेडिङमा जोखिम बढी हुने भएकाले आयात-निर्यात र एलसी(प्रतितपत्र) सम्बन्धित कार्य गर्ने संस्थालाई मात्र कारोबार अनुमति दिनेमा दुवै पक्ष सहमत छन्। अनुकूल वातावरण निर्माण र पर्याप्त शिक्षापछि मात्र आम सर्वसाधारणलाई पनि फरेक्स एक्सचेन्समा सहभागी गराउने नेप्सेको योजना हो।

कारोबार र राफसाफलाई विशेष प्राविधिक पूर्वाधार चाहिने नेप्सेको ठम्याइ छ। सीडीएससीले फरेक्स एक्सचेन्स मैत्री नभएको नेप्सेको आन्तरिक विश्लेषणले देखाएको छ। खरिद बिक्री भने सञ्चालनमा रहेकै ब्रोकरले गर्न सक्ने छन्।