
काठमाडौं। सुनचाँदीको मूल्यमा वर्षकै उच्च भएको छ। चालु साताका दोस्रो र तेस्रो दिन घट्ने संकेत गरेको मूल्यमा बुधबार फेरि बढोत्तरी भएको हो।
सुनको कारोबार मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ पुगेको छ। मंगलबार १ लाख रुपैयाँ तोला थियो। बुधबार एकै दिन तोलामा १ हजार रुपैयाँ बढ्दा कारोबार मूल्य वर्षकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि साताको पहिलो दिन १ लाख ५ सय रुपैयाँ प्रतितोला भएको सुन सोमबार तोलामा ३ सय र मंगलबार २ सय घटेर कारोबार भएको थियो। सुनको मूल्य ६ महिनापछि गत सातादेखि फेरि उच्च भएको हो।
चाँदी पनि बढेर चालु साता फेरि तोलाको १४ सय रुपैयाँ पुगेको छ। गत आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो। सोमबार र मंगलबार १० रुपैयाँ घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८१०.०५ डलरमा कारोबार भइरहेको छ। सोमबार प्रतिऔंस १७८७.४४ डलर थियो भने घट्दा मंगलबार प्रतिऔंस १७८२.९७ डलर भएको थियो।
चाँदी पनि बढेर प्रतिऔंस २३.७७ डलरमा कारोबार भइरहेको छ। सोमबार प्रतिऔंस २३.२९ डलर र मंगलबार प्रतिऔंस २३.४२ डलर थियो।