
अत्याधुनिक इलेक्ट्रिक ड्राइभट्रेन प्रविधि प्रयोग भएको 'इटूओ प्लस' एकपटक चार्ज गरेपछि ८० किलोमिटर प्रतिघण्टा १ सय ४० किलोमिटरसम्म चल्छ।यो कारमा चार जना यात्रु बस्न मिल्छ।महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशन हेड अरविन्द माथेयुले भारतको एकीकृत तथा अग्रणी मोबिलिटी सोलुसनले भारतभर इलेक्ट्रिक साधनको पहुँच पुर्याउने लक्ष्य अनुसार यो कार उत्पादन गरिएको बताउँदै नेपालका लागि समेत यो विद्युतीय कार उपयोगी हुने बताए।
महिन्द्राका साउथ एशिया इन्टरनेशनल अपरेशनका उपाध्यक्ष सन्जीब जादबले नेपालको गतिशिलताको प्रमुख साधन इटुओ प्लस बन्ने विश्वास लिएको बताए।नेपाल सरकारको विद्युतीय सवारी साधन प्रति सहयोगात्मक एवम् सकारात्मक नीति र ग्राहकलाई प्रयोग गर्न पनि सहज भएको उनले बताए।उनले भने 'न्यूनतम खर्चमा सञ्चालन गर्न सकिने 'इटूओ प्लस' वातावरण मैत्री रहेको र ग्राहकसँगको सामीप्यताका लागि काठमाडौंमा दक्ष जनशक्ति सहितको कार्यालय स्थापना गरिएको छ।'
अग्निका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले नेपालमा इन्धन संकट र वातावरण प्रदुषणका नियन्त्रणका लागि इलेक्ट्रिक कारको महत्व रहेको बताउँदै नयाँ कार नविनतम विशेषता भएको र घरमै चार्ज गर्न सकिने सुविधा रहेको बताए।कम्पनीले 'इटूओ प्लस'को मूल्य ३१ लाख रुपैयाँ तोकेको छ।इटूओ प्लसमा स्मार्ट फोन एप्स, इन्फोटेनमेन्ट सिस्टम, रिजेनेरेटिभ ब्रेकिङ, रिभाइभ, अटोमेटिक म्यासेजिङ लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ।
सजिलै चार्ज गर्न सकिने, ४ वटा ढोका रहेको, आरामदायी सीट भएको यो कार कोरल ब्लु, स्पार्किङ्ग रेड वाइन, आर्सेटिक सिल्भर, सोलिड व्हाइट रंगमा उपलव्ध रहेको कम्पनीले जनायो।
