
आईएमई मलेसिया विश्वको तेस्रो ठूलो रेमिट्यान्स कम्पनी रिया मनी ट्रान्सफरसँग मर्ज तथा एक्विजीशन भएको छ । नस्डाकमा सूचिकृत कम्पनीसँगको साझेदारीले आईएमईलाई कति फरक पार्छ ? आईएमई मलेसियाका प्रवन्ध निर्देशक हेमराज ढकालको अन्तर्वार्ता
विश्वको तेस्रो ठूलो रेमिट्यान्स कम्पनी रिया र मलेसियाको आईएमईवीच सेवा मर्ज भएको छ, यसले रेमिट्यान्स बिजनेशलाई कसरी फरक पार्छ ?
रिया भनेको रेमिट्यान्समा ग्लोबल लिडर हो, आईएमईले मलेसिया र खाडि क्षेत्रबाट दक्षिण एशियाली मुलुकमा पकड बनाएको छ । अब रियालाई हाम्रो सञ्जालको फाइदा हुनेछ, हामीले पनि युरोप र अमेरिकामा भएको उसको सञ्जाललाई उपयोग गर्न पाउँछौं ।
यसले दुवै रेमिट्यान्स कम्पनीका ग्राहकले फाइदा पाउनेछन् । त्यसबाहेक उनीहरुको वित्तीय अवस्था राम्रो छ, बिजनेशको भोल्युमले ‘कस्ट अफ फण्ड’ कम पर्छ, यसले ग्राहकलाई रकम रेमिट्यान्स गर्न अझ बढी सुरक्षित, भरपर्दो र सेवा सस्तो हुनेछ । उनीहरुको वित्तीय अवस्था बलियो छ, तरलता प्रशस्त छ । यसले व्यापार वृद्धिका लागि थप अवसर पनि प्राप्त हुन्छ ।
पढ्नुहाेस्
नस्डाक सूचिकृत युरोनेटको आईएमई मलेसियामा लगानी, तेस्रो ठूलो रेमिट्यान्स कम्पनीसँग मर्ज
आइएमई र रियावीच मर्ज तथा एक्विजीशन भएको छ । अब कम्पनीको नाम, स्ट्रक्चर र व्यवस्थापनमा कति परिवर्तन हुन्छ ?
अहिले जसरी सञ्चालन भैरहेको छ, अब पनि त्यसैगरी सञ्चालन हुन्छ । ब्राण्ड अब पनि आईएमईकै रुपमा सञ्चालन हुन्छ । अहिले व्यवस्थापन पनि परिवर्तन हुँदैन् । कम्पनी भने अब युरोनेटको सहायक कम्पनीका रुपमा सञ्चालन हुन्छ । त्यसबाहेक हामीबाट ग्राहकले पाउने सेवा र सुविधा अहिले यथावत रहन्छ ।
आइएमई मलेसियामा सानो कम्पनीका रुपमा सुरु भएको थियो, विस्तार भयो र अब नास्डक सूचिकृत कम्पनीको सहायक कम्पनी बन्यो, एउटा नेपालीका रुपमा यो कति ठूलो उपलब्धि हो ?
हाम्रा लागि यो एउटा दुर्लभ अवसर हो । सन् २००३ देखि मलेसियामा हामीले सेवा सुरु गर्यौं । आजका दिनमा यो कम्पनी एउटा ग्लोबल कम्पनीको हिस्सा बनेको छ, योभन्दा ठूलो के हुन सक्छ । हामी यहाँबाट सिधै नास्डकमा गएर सूचिकृत हुनु भनेको असम्भव नै हो । तर उस्तै व्यापार भएको कम्पनीसँग मर्ज भएर त्यहाँ पुग्नु हाम्रा लागि राम्रै उपलब्धि हो ।
मर्ज तथा एक्विजीशनमा आइएमई समूहले के पायो ?
उनीहरुले हामीलाई केही नगद र बाँकी युरोनेटको सेयरमा सेटलमेन्ट गरेका छन् ।
मलेसिया लगायत खाडी मुलुकमा आइएमईको राम्रो उपस्थिति थियो, रियासँगको साझेदारीपछि अब अमेरिका र युरोपमा भएका नेपालीले कसरी सुविधा पाउँछन् ?
रियासँग प्रविधि राम्रो छ, नयाँ नयाँ प्रविधि उनीहरुले इनोभेसन गरिरहेका हुन्छन्, ती प्रविधिको अब हामीले पनि प्रयोग गर्न सक्छौं । यसले अब सेवाको गुणस्तर बढ्छ । अमेरिका युरोपबाट अब कार्ड, एटिएमबाट नेपालीले नेपाल लगायतका मुलुकमा रकम पठाउन सक्छन् । अब नेपालीले पहिलेभन्दा धेरै सजिलै पैसा पठाउन सक्छन् ।
रियाको प्यारेन्ट कम्पनी युरोनेटको विद्युतीय वित्तीय प्रणालीमा राम्रो पकड छ, के उनीहरु नेपालमा आएर काम गर्न इच्छुक छन् ? तपाईंको केही कुरा भएको छ ?
हामी दुई कम्पनीवीच अहिले बल्ल सहकार्य सुरु भएको छ । पक्कै पनि उनीहरुले एटिएम, पिओएस ट्रान्जेक्शनमा जुन सेवा दिइरहेका छन्, त्यो सेवा नेपाली बैंकलाई पनि उपलब्ध गराउन उनीहरु उत्सुक छन् ।